• Wednesday, March 4, 2026

प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका विपिन जोशीप्रति श्रद्धाञ्जली व्यक्त


काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायलमा मारिएका नेपाली युवा विपिन जोशीको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक विशेष समारोहमा पुगेर उनले जोशीप्रति श्रद्धाञ्जली अर्पण गरिन्।

सो अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले हमासको आक्रमणमा परेका विपिनसहित नेपाली युवाहरूले भोगेको पीडा र संघर्षलाई नेपालमा बसेर पूर्ण रूपमा बुझ्न नसकिने बताइन्। “त्यहाँ अपहरणको शिकार हुँदा कति दुख खेपे होलान्, कति कष्ट भोगे होलान्, त्यो युवाको मनमा के भएको थियो होला,” उनले भावुक हुँदै भनिन्।

प्रधानमन्त्रीले विपिन जोशीलाई केवल उनको जन्म दिने आमाको मात्र नभई सम्पूर्ण नेपाली र प्रत्येक नेपाली आमाको छोरा भएको उल्लेख गरिन्। उनले यो दुखद घटनाले सिंगो राष्ट्रलाई स्तब्ध बनाएको बताउँदै विपिनको परिवारप्रति गहिरो समवेदना व्यक्त गरिन्।

यो घटनाले नेपाली युवाहरूको विदेशमा सुरक्षा र संरक्षणको मुद्दालाई पुनः सतहमा ल्याएको छ। सरकारले यस्ता घटनाबाट पाठ सिक्दै भविष्यमा नेपाली नागरिकको सुरक्षाका लागि थप कदम चाल्ने प्रधानमन्त्रीले आश्वासन दिएकी छिन्।

Please Login to comment in the post!

you may also like