काठमाडौं। बैंकिङ प्रणालीमा तरलता अत्यधिक बढेपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणमार्फत रकम खिच्ने भएको छ। राष्ट्र बैंकले दिउँसो ३ बजे १२ दिन अवधिको लागि बोलकबोलमार्फत उक्त रकम संकलन गर्न लागेको हो।
बोलकबोलमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको कुल रकमसम्म बोल गर्न सक्नेछन्।
यस निक्षेपको सावाँ तथा ब्याज आगामी पुस २५ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ। ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ र बहु–ब्याजदरमा बहुबोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने छन्।
राष्ट्र बैंकले पछिल्ला दिनहरूमा बैंकिङ प्रणालीमा देखिएको अत्याधिक तरलतालाई व्यवस्थापन गर्न यस्ता मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।