वासिङ्टन — अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्ड कब्जा गर्ने आफ्नो प्रस्तावको विरोध गर्ने आठ मित्र राष्ट्रमाथि नयाँ भन्सार कर लगाउने धम्की दिएपछि युरोपेली नेताहरूले कडा प्रतिक्रिया जनाएका छन्।बेलायतका प्रधानमन्त्री केयर स्टारमरले उक्त कदमलाई “पूर्ण रूपमा गलत” भनेका छन् भने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले यसलाई “अस्वीकार्य” निर्णयको संज्ञा दिएका छन्।ट्रम्पले डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डबाट आयात हुने सामानमा फेब्रुअरी १ देखि १० प्रतिशत भन्सार कर लगाइने घोषणा गरेका हुन्। उनले आवश्यक परे यो कर २५ प्रतिशतसम्म बढाउन सकिने र सम्झौता नभएसम्म कायम रहने बताएका छन्।
ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्यान्ड अमेरिकी सुरक्षाका लागि अत्यन्तै महत्त्वपूर्ण रहेको दाबी गर्दै आएका छन्। उनले ग्रिनल्यान्ड कब्जा गर्न बल प्रयोगको सम्भावनासमेत अस्वीकार नगरेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा चिन्ता बढेको छ।यसैबीच शनिबार ग्रिनल्यान्ड र डेनमार्कमा हजारौं मानिसहरू सडकमा उत्रिँदै अमेरिकी प्रस्तावविरुद्ध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले ग्रिनल्यान्डको सार्वभौमिकता र स्वायत्तताको सम्मान गर्न माग गरेका छन्।ग्रिनल्यान्ड जनसंख्या कम भए पनि प्राकृतिक स्रोतले सम्पन्न क्षेत्र हो। उत्तर अमेरिकादेखि आर्कटिक क्षेत्रको बीचमा पर्ने यसको भौगोलिक अवस्थाका कारण मिसाइल आक्रमणको प्रारम्भिक चेतावनी प्रणाली र समुद्री गतिविधि निगरानीका लागि यो रणनीतिक रूपमा महत्वपूर्ण मानिन्छ।यसअघि ट्रम्पले वासिङ्टनले ग्रिनल्यान्ड “सजिलो तरिकाले वा कठोर तरिकाले” प्राप्त गर्ने अभिव्यक्ति दिएका थिए, जसले अन्तर्राष्ट्रिय समुदायमा थप विवाद उत्पन्न गरेको छ।