• Thursday, March 5, 2026

ओलीलाई भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै एमालेद्वारा प्रत्यक्षतर्फको टिकट वितरण, इतर समूह पन्छाइँदा असन्तुष्टि


काठमाडौं — पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको टिकट वितरण प्रक्रिया अघि बढाएको छ। शनिबार पार्टीको केन्द्रीय मुख्यालय च्यासलमा दिनभर बसेको सचिवालय बैठकले अधिकांश निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको हो।बैठकपछि उपमहासचिव लेखराज भट्टले उम्मेदवार टुंगिएका निर्वाचन क्षेत्रहरूको नामावली सार्वजनिक गरेका छन्। उनका अनुसार अझै निर्णय हुन बाँकी रहेका केही निर्वाचन क्षेत्रहरूमा अध्यक्ष ओलीले आवश्यक छलफल गरी अन्तिम निर्णय लिनेछन्।

सार्वजनिक सूचीअनुसार अध्यक्ष ओली यसपटक पनि झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन्। यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित ओलीलाई पार्टीले पुनः सुरक्षित क्षेत्रबाटै अघि सारेको देखिन्छ।उपाध्यक्षहरू विष्णुप्रसाद पौडेल पाल्पा–२, पृथ्वीसुब्बा गुरुङ लमजुङ र गोकर्ण बिष्ट गुल्मी–२ बाट उम्मेदवार बन्ने भएका छन्। यस्तै उपमहासचिव लेखराज भट्ट कैलाली–४ र रघुवीर महासेठ धनुषा–४ बाट उम्मेदवार बन्ने निर्णय गरिएको छ।तर अर्का उपमहासचिव योगेश भट्टराईको विषयमा भने सचिवालय बैठकले कुनै निर्णय गर्न सकेन। उनी विगतदेखि निर्वाचन लड्दै आएको ताप्लेजुङ निर्वाचन क्षेत्र खाली राखिएको छ। बैठक स्रोतका अनुसार अध्यक्ष ओली भट्टराईलाई टिकट दिन इच्छुक देखिएका छैनन्।

बैठकमा भट्टराईले केवल आफ्नो निर्वाचन क्षेत्रबारे मात्र नभई टिकट वितरणको समग्र प्रणालीप्रति नै ‘नोट अफ डिसेन्ट’ रहेको जानकारी गराएको स्रोतले बताएको छ। यद्यपि पार्टीभित्र एकताको सन्देश दिनुपर्ने भन्दै पदाधिकारीहरूले भट्टराईबारे निर्णय गर्न दबाब दिएका थिए।गत मंसिर अन्तिम साता सम्पन्न एमालेको ११औं महाधिवेशनमा योगेश भट्टराई अध्यक्ष ओलीका प्रतिस्पर्धी ईश्वर पोखरेलको प्यानलबाट उपमहासचिव निर्वाचित भएका थिए। त्यसैले उनलाई टिकट नदिँदा पार्टीभित्र गलत सन्देश जाने तर्क केही नेताहरूको थियो। ताप्लेजुङको निर्णय नभएपछि भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टीको निर्णयबाट विचलित नहुन र एमालेका उम्मेदवारलाई जिताउने अभियानमा लाग्न कार्यकर्तालाई अपिल गरेका छन्।बैठक स्रोतका अनुसार फरक समूहबाट उपाध्यक्ष जितेका गोकर्ण बिष्ट बाहेक ईश्वर पोखरेल समूहका प्रायः कसैलाई पनि टिकट दिइएको छैन। अध्यक्ष ओलीसँग प्रतिस्पर्धा गरेका ईश्वर पोखरेललाई नै टिकट दिने निर्णयसमेत बैठकले गरेन।

काठमाडौं–५ बाट पोखरेलको नाम जिल्ला कमिटीबाट एकल सिफारिस भएको थियो। जिल्ला कमिटीले पोखरेलले चुनाव नलड्ने घोषणा गरे मात्र अन्य नाममा छलफल गर्ने निर्णय गरेको थियो। तर स्रोतका अनुसार यो क्षेत्रबाट सचिव राजन भट्टराई चुनाव लड्न इच्छुक छन्।‘काठमाडौं–४ मा लड्दिनँ, ५ मा जान्छु भन्ने राजन भट्टराईको प्रस्ताव छ,’ स्रोतले भन्यो, ‘अन्तिम निर्णय सम्भवतः राजनकै पक्षमा हुन सक्छ।’ काठमाडौं–४ बाट राजन भट्टराई लगातार पराजित हुँदै आएका छन्।यद्यपि उपमहासचिव लेखराज भट्टले भने छलफल गरेर सिफारिस भएकै नेताहरूले टिकट पाउने सम्भावना अझै रहेको बताएका छन्। तर हालसम्मको टिकट वितरणको ढाँचा हेर्दा अध्यक्ष ओलीले आफू इतर समूहका नेताहरूलाई क्रमशः पन्छाउँदै लगेको स्पष्ट देखिन्छ।ईश्वर पोखरेलको प्यानलबाट सचिव पदका उम्मेदवार बनेका विनोद ढकाल, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का र इन्द्रलाल सापकोटामध्ये कसैले पनि टिकट पाएनन्। यीमध्ये गोकुल बास्कोटा (काभ्रे–२) र ठाकुर गैरे (पाल्पा–२) ले २०७९ को निर्वाचन जितेका थिए।

तर यसपटक रुपन्देही–२ बाट चुनाव लड्दै आएका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई पाल्पा–२ को टिकट दिइएपछि ठाकुर गैरे पन्छिएका छन्। यो निर्णयप्रति केही पदाधिकारीहरूले कडा आपत्ति जनाएका थिए।‘पार्टीका उपाध्यक्ष हारिन्छ भनेर निर्वाचन क्षेत्र फेरेको सन्देश जानेगरी यस्तो निर्णय नगरौं,’ ती पदाधिकारीहरूको तर्क थियो, ‘यसले ठाकुर गैरेलाई पनि अन्याय हुन्छ।’ यस्तै तर्क गोकुल बास्कोटाको हकमा पनि उठाइएको थियो तर अन्ततः प्रस्तावअनुसारकै निर्णय भएको स्रोतले बतायो।

इतर समूहका नेताहरूलाई टिकट नदिने क्रममा मोरङका तीन निर्वाचन क्षेत्रबाट सिफारिस भएका विनोद ढकालबारे पनि कुनै निर्णय भएन। ढकालको नाम मोरङ–१, ४ र ६ बाट सिफारिस भएको थियो।पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेलाई पनि यसपटक टिकट दिइएन। चितवन–१ बाट चुनाव लड्दै आएका पाण्डेको नामसमेत सिफारिस नगरिएको स्रोतले जनाएको छ।यसैगरी झापा–४ बाट एलपी सावा, इलाम–२ बाट महेश बस्नेत, ओखलढुंगा बाट अमिरबाबु गुरुङ, सुनसरी–१ बाट जय राई, बारा–२ बाट पुरुषोत्तम पौडेल, काठमाडौं–३ बाट कृष्ण राई, काठमाडौं–९ बाट कृष्णगोपाल श्रेष्ठ, सिन्धुली–१ बाट गणेश पहाडी, रामेछामबाट रत्न गौतम र कास्कीबाट मनबहादुर गुरुङले टिकट नपाउनुमा फरक समूहमा आबद्ध हुनु प्रमुख कारण रहेको नेताहरू बताउँछन्।

त्यस्तै म्याग्दीबाट बालकृष्ण सुवेदी, कैलाली–२ बाट झपट रावल, कञ्चनपुर–१ बाट तारा लामा र बाजुराबाट कर्ण थापाले टिकट नपाउनुको ठोस कारण नरहेको उनीहरूको दाबी छ। कतिपय अवस्थामा कम मत पाएका व्यक्तिलाई टिकट दिइएको भन्दै असन्तुष्टि अझ चर्किएको छ। उदाहरणका लागि बारा–२ मा सिफारिस प्रक्रियामा जम्मा चार मत पाएका ज्वाला साहलाई टिकट दिइएपछि अत्यानन्द पाण्डे पन्छिएका छन्।टिकट वितरणका लागि स्पष्ट मापदण्ड नबनाइएकाले पार्टीभित्र असन्तुष्टि बढ्ने खतरा रहेको नेताहरूको भनाइ छ। ‘कसले किन टिकट पायो भन्ने आधार नबन्दा पार्टीको आन्तरिक एकतामा समस्या आउन सक्छ,’ एक नेताले बताए।उनका अनुसार एमाले चुनावमा एकताबद्ध र सशक्त रूपमा लाग्नुपर्ने बेला टिकट वितरणमा सन्तुलन कायम हुन सकेन। ‘कतिपय पदाधिकारीहरू हारिन्छ भन्ने डरले निर्वाचन क्षेत्र फेर्नतिर लाग्नुभयो,’ उनले भने, ‘धेरै ठाउँमा गुट छल्न जुनियर नेताले टिकट पाउँदा थप समस्या सिर्जना हुन सक्छ।’

अध्यक्ष ओलीले इतर समूहमा सक्रिय नेताहरू मात्र नभई कतिपय आफ्नै पक्षका नेताहरूको हकमा पनि निर्णय नगरेको देखिन्छ। महासचिव शंकर पोखरेलको टिकट अझै निश्चित नभएको अवस्था त्यसको उदाहरण हो।दाङ–२ बाट चुनाव लड्दै आएका पोखरेलको निर्वाचन क्षेत्रबारे कुनै निर्णय नगरिएको स्रोतले जनाएको छ। महासचिव पोखरेल आफैं सोही क्षेत्रबाट लड्ने कि अन्यत्र सर्ने भन्नेमा अन्योलमा रहेकाले टिकटबारे निर्णय रोकिएको बताइएको छ।एमालेको टिकट वितरण प्रक्रिया अझै पूर्ण रूपमा टुंगिन बाँकी रहे पनि हालसम्मका निर्णयले पार्टीभित्र शक्ति सन्तुलन, गुटगत राजनीति र आगामी निर्वाचनमा त्यसको प्रभावबारे गम्भीर बहस सुरु गराएको छ।

Please Login to comment in the post!

you may also like