रौतहट — जिल्ला सुरक्षा समितिले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि रौतहट जिल्लामा रहेका कुल २७७ मतदानस्थलमध्ये १५२ वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखेको छ।सुरक्षाका दृष्टिकोणले जिल्लाका विभिन्न स्थानीय तहमा रहेका ती मतदानस्थललाई अतिसंवेदनशील वर्गीकरण गरिएको जिल्ला सुरक्षा समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिए। उनका अनुसार १०० मतदानस्थललाई संवेदनशील र बाँकी २५ मतदानस्थललाई सामान्य सूचीमा राखिएको छ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्रगत रूपमा हेर्दा रौतहट क्षेत्र नं १ मा ६७, क्षेत्र नं २ मा ७२, क्षेत्र नं ३ मा ७७ र क्षेत्र नं ४ मा ६१ मतदानस्थल रहेका छन्।जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासका अनुसार आगामी निर्वाचनका लागि जिल्लाभर ५४१ मतदान केन्द्र कायम गरिएको छ। विसं २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २७६ मतदानस्थल रहेकामा यस वर्ष एउटा मतदानस्थल थप गरिएको हो। गरुडा नगरपालिका–६ मा नयाँ मतदानस्थल थप गरिएको उनले जानकारी दिए।यस वर्षको निर्वाचनमा रौतहटमा २१ हजार १५६ मतदाता थपिएका छन्। हाल जिल्लामा कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन्। विसं २०७९ को निर्वाचनमा जिल्लामा ४ लाख १५ हजार ४५५ मतदाता रहेका थिए।