• Tuesday, March 3, 2026

‘लिटिल आइस एज’ र कठ्याङ्ग्रिने युरोप: कठोर चिसोले जन्माएको उष्ण वास्तुकलाको पाठ


लन्डन — सन् १५६४ को नयाँ वर्षको पूर्वसन्ध्यामा बेलायतको सबैभन्दा लामो नदी टेम्स पूर्ण रूपमा जमेको थियो। नदीमाथि मानिसहरूले आगो बालेर भोज गरे, नाचगान गरे र केही ऐतिहासिक विवरणअनुसार महारानी एलिजाबेथ प्रथमले जमेको नदीमाथि तीरन्दाजीसमेत अभ्यास गरिन्। यो कुनै एकपटकको घटना थिएन। त्यसअघिका दशकहरूमा राजा हेनरी अष्टम र उनकी महारानीले पनि जमेको टेम्समाथि स्लीज चढेर यात्रा गरेका थिए।यी सबै घटना १४औँ शताब्दीदेखि १९औँ शताब्दीबीच देखिएको ‘लिटिल आइस एज’ नामक दीर्घकालीन चिसो मौसमको परिणाम थिए। यस अवधिमा युरोपभर कठोर जाडो, असामयिक तुसारो, भोकमरी र युद्धका क्रममा सैनिकहरू गर्मी याममै जमेर मर्ने अवस्थासमेत देखियो।यस चरम मौसमले युरोपेली समाजलाई अनुकूलनका नयाँ उपायहरू विकास गर्न बाध्य बनायो। त्यसमध्ये सबैभन्दा चर्चित उदाहरण हो—इंग्ल्यान्डको डर्बीशायरमा रहेको हार्डविक हल, जसलाई चिसो मौसमसँग जुध्न बनाइएको असाधारण वास्तुकलाको नमूना मानिन्छ।

सूर्यअनुकूल डिजाइन

१६औँ शताब्दीको अन्त्यतिर एलिजाबेथ (बेस) अफ श्रुसबरीले बनाएको ‘न्यु हार्डविक हल’ आफ्नो समयको अत्यन्तै भव्य भवन थियो। समकालीनहरूले यसलाई “पर्खालभन्दा झ्याल बढी भएको घर” भनेर टिप्पणी गरेका थिए। महँगो काँचको अत्यधिक प्रयोग मात्र विलासिताको प्रतीक थिएन, यो ताप व्यवस्थापनको रणनीति पनि थियो।पुरानो हल पूर्व–पश्चिम दिशामा रहेको भए पनि नयाँ हललाई उत्तर–दक्षिण दिशामा घुमाएर बनाइएको थियो, जसले दिनभर सूर्यको अधिकतम ताप ग्रहण गर्न सकोस्। बिहान पूर्वतर्फको लामो ग्यालरी, दिउँसो र साँझ दक्षिण–पश्चिमतर्फका शयनकक्ष र सबैभन्दा चिसो उत्तर–पश्चिम कुनामा भान्सा राखिएको थियो।पर्यावरण इतिहासकार डागोमार डिग्रुटका अनुसार लिटिल आइस एजको सबैभन्दा चिसो समय १६औँ शताब्दीको उत्तरार्ध थियो। यद्यपि विश्व औसत तापक्रम अधिकतम ०.५ डिग्री सेल्सियसले मात्र घटेको थियो, क्षेत्रीय रूपमा यसको प्रभाव अत्यन्तै गहिरो थियो।

ताप जोगाउने संरचना

हार्डविक हलमा उत्तरतर्फका केही झ्यालहरू बाहिरबाट मात्र देखिने ‘ब्लाइन्ड विन्डो’ हुन्, भित्रबाट पूरै बन्द। कारण—उत्तर फर्केका झ्यालले ताप नदिने। त्यस्तै, सबैजसो फायरप्लेस भवनको बीच भागमा राखिएका छन्, ताकि तातो बाहिर नभागोस्। भवनको केन्द्रीय पर्खाल करिब १.३७ मिटर बाक्लो छ, जसले दिनभर जम्मा भएको ताप रातिसम्म कायम राख्छ।अनुसन्धानकर्ताहरूका अनुसार जाडो दिनमा हार्डविक हलभित्रको तापक्रम बाहिरभन्दा करिब १० डिग्री सेल्सियस बढी महसुस हुन्छ, जबकि सामान्य एलिजाबेथकालीन घरमा यो अन्तर २–३ डिग्री मात्र हुन्थ्यो।त्यस समयमा मानिसहरूले पर्खालमा बाक्ला टेपेस्ट्री, ओछ्यान वरिपरि पर्दा र भारी लुगा प्रयोग गरेर पनि चिसोबाट जोगिन्थे।

आजका लागि पाठ

विशेषज्ञहरूका अनुसार हार्डविक हल जस्ता ऐतिहासिक भवनहरू आजको जलवायु संकटमा पनि प्रेरणाका स्रोत हुन्। आधुनिक सिसाका गगनचुम्बी भवनहरू गर्मीमा अत्यधिक तातो र जाडोमा चिसो हुने भएकाले ऊर्जा खपत बढाउँछन्। यसको विपरीत, सूर्यको दिशा, ताप भण्डारण गर्ने सामग्री र प्राकृतिक प्रकाश प्रयोग गर्ने पुराना उपायहरू आज पनि उपयोगी छन्।डिग्रुट भन्छन्, “इतिहास कम प्रयोग गरिएको स्रोत हो। विगतका जलवायु संकटसँग मानिसहरूले कसरी जुधे भन्ने बुझ्न सके भविष्यका चुनौतीसँग जुध्न नयाँ उपाय भेट्न सकिन्छ।”साना परिवर्तन—जस्तै घरको दक्षिणतर्फ बस्ने कोठा प्रयोग गर्नु, पर्दा र बाक्ला पर्खाल प्रयोग गर्नु, वा रूख रोपेर गर्मीमा छायाँ बनाउनु—ले पनि ऊर्जा बचतमा ठूलो योगदान दिन सक्छ।जलवायु परिवर्तनका कारण मौसम अझै अस्थिर बन्दै गएको आजको समयमा, हार्डविक हलले दिएको सन्देश स्पष्ट छ—प्रकृतिसँग लड्ने होइन, त्यससँग मिलेर डिजाइन गर्ने वास्तुकलाको आवश्यकता झन् बढ्दो छ।

Please Login to comment in the post!

you may also like