• Tuesday, March 3, 2026

ट्रम्प दोस्रो कार्यकालमा अमेरिका अब युरोपको साझेदार होइन, बरु उसको माथिबाट आदेश दिने मालिक बन्दैछ कि?


जिनेभा-युरोप जिनेभा पुग्दा आफूलाई वार्ताको टेबलको मुख्य कुर्सीमा बस्ने ठान्थ्यो, तर फर्किंदा न आवाज रह्यो, न कुनै योजना रह्यो, न त के भयो भन्ने थाहा नै भयो। ट्रम्प प्रशासनले पठाएका दूतहरूले एकतर्फी रूपमा युक्रेन शान्ति प्रस्तावको स्क्रिप्ट पुनर्लेखन गरे, र पश्चिम युरोपले टुलुटुलु हेरिरहनुबाहेक केही गर्न सकेन।आइतबार सम्पन्न भएको बन्द कोठे वार्तामा अमेरिकी विदेशमन्त्री मार्को रुबियो, विशेष दूत स्टिभ विटकफ र सेना सचिव ड्यानियल ड्रिस्कलले युक्रेनका प्रमुख एन्ड्रि यर्माकसँग मिलेर ट्रम्पको विवादास्पद २८ बुँदे शान्ति प्रस्तावलाई “परिमार्जित र परिष्कृत” बनाए। संयुक्त अमेरिका–युक्रेन विज्ञप्तिमा “सबै पक्षको राय समेटिएको” दाबी गरियो, तर बेलायत, फ्रान्स, जर्मनी र युरोपेली संघका प्रतिनिधिले तयार पारेको काउन्टर–प्रस्तावलाई लगभग पूरै बेवास्ता गरियो। उनीहरूले क्षेत्रीय अखण्डता, सेना सीमा र नेटो सदस्यताजस्ता विषयमा कडा रातो रेखा कोर्न खोजेका थिए, तर अमेरिकी टोलीले ती कुरा “सतही रूपमा मात्र” समेटेर आफ्नै ढंगले अघि बढ्यो।युरोपेली कूटनीतिज्ञहरूले गोप्य रूपमा भनेका छन्– “हामी त टेबलमा बस्ने आशामा गएका थियौं, तर अमेरिकाले हामीलाई कुर्सी नै दिएन।” जर्मन चान्सलर फ्रेडरिक मर्सले ट्रम्पसँगको फोन वार्तापछि भनेका थिए, “केही बुँदा स्वीकार्य छन्, तर युक्रेनलाई टुक्र्याउने र दोस्रो विश्वयुद्धपछिको जस्तो विभाजन ल्याउने कुरा हाम्रा लागि अस्वीकार्य छ।” लिथुआनियाका विदेशमन्त्री गाब्रियलियस ल्यान्ड्सबर्गिसले ट्रम्पको मूल प्रस्तावलाई “भयानक” भन्दै “युक्रेनलाई तानाशाहको कृपामा छोड्ने खेल” भनेका छन्।परिमार्जित प्रस्तावमा तत्काल युद्धविराम, हालको अग्रपंक्तिमा रोक, क्षेत्रीय विवाद पछि सुल्झाउने र अमेरिकाले दिने सुरक्षा ग्यारेन्टी जस्ता केही युरोपेली सुझाव समेटिए पनि मूल संरचनामा ट्रम्पकै “क्रिमिया र डोनबास रुसलाई छोड्ने” र “युक्रेनी सेनाको आकारमा कडा सीमा” जस्ता बुँदा यथावत् छन्। रुसले यो परिमार्जित संस्करण अझै पाएको छैन, तर उसले पहिल्यै “ट्रम्पको मूल प्रस्ताव वार्ताको आधार बन्न सक्छ” भनेर स्वागत गरिसकेको छ।जिनेभाबाट फर्किंदै गर्दा युरोपेली नेताहरूको मनमा एउटै प्रश्न घुमिरहेको छ– ट्रम्प दोस्रो कार्यकालमा अमेरिका अब युरोपको साझेदार होइन, बरु उसको माथिबाट आदेश दिने मालिक बन्दैछ कि? युरोपले टेबलमा कुर्सी त पाएन नै, अब ऊ खेलको नियम बनाउने ठाउँबाटै बाहिरिएको जस्तो देखिन्छ।

Please Login to comment in the post!

you may also like