काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो सचिवालय विस्तार गरेको छ। पार्टी सभापति रवि लामिछानेले पार्टी विधानको धारा २६ को व्यवस्था अनुसार चार जना नयाँ सदस्यलाई सचिवालयमा मनोनीत गरेका छन्। मनोनीत हुनेहरूमा सोबिता गौतम, गणेश पराजुली, शिशिर खनाल र हरि ढकाल छन्। यी चारै जना गत निर्वाचनमा प्रत्यक्ष निर्वाचित सांसद हुन्।शनिबार बसेको पार्टीको केन्द्रीय समितिको भर्चुअल बैठकमा सभापति लामिछानेले उक्त निर्णय प्रस्तुत गरेका थिए। रास्वपाको विधानमा २५ जनासम्मको सचिवालय गठन गर्न सकिने व्यवस्था छ। विधानमा भनिएको छ, “पार्टी सभापतिले आफूसहित निर्वाचित पदाधिकारी, कोषाध्यक्ष, प्रवक्ता र बाँकी सदस्यहरू केन्द्रीय समितिबाट मनोनीत गरी २५ जनासम्मको सचिवालय गठन गरी केन्द्रीय समितिमा जानकारी दिनुपर्नेछ।”यसअघि १० सदस्यीय रहेको रास्वपाको सचिवालयमा अब चार जना थपिएसँगै १४ सदस्यीय भएको छ। रास्वपाका एक नेताका अनुसार आवश्यकता अनुसार सभापतिले अन्य सदस्यहरूलाई पनि सचिवालयमा थप गर्न सक्नेछन्।रास्वपा स्रोतले यो विस्तारले पार्टीको संगठनात्मक संरचनालाई थप सुदृढ गर्ने बताएको छ