काठमाडौ। नेपाल सरकारले चुरे (शिवालिक) पहाडको नाजुक भू–भागमा पूर्व–पश्चिम राजमार्गको बनकासवास–सुराहीखोला–धानखोला–कालाकाँटे खण्ड चौडा गर्ने योजना अघि बढाएको छ। तर दाउन्ने पहाड काट्दाको अनुभवले स्पष्ट पारेको छ– चुरेजस्तो कमजोर भू–बनोटमा परम्परागत तरिकाले सडक विस्तार गर्दा पहिरो, लगातार अवरोध र दीर्घकालीन ठूलो क्षति निम्तिन्छ। बारम्बारको मर्मत र विपद् व्यवस्थापनमा देशले अर्बौँ रुपैयाँ गुमाइरहेको छ। त्यसैले दाङ देउखुरीको भालुवाङसम्म पुग्ने यो खण्डमा पहाड काट्ने होइन, करिब ४.१ किमी लामो दुई लेनको सुरुङ निर्माण गर्नु सुरक्षित, दिगो र अविरल यातायातको एकमात्र व्यावहारिक विकल्प हो।
बुटवल–नारायणगढ खण्डको दाउन्ने क्षेत्रले देखाएको छ– चुरेमा सडक चौडा गर्दा वर्षौंसम्म पहिरो र अवरोधको शृङ्खला चलिरहन्छ। बनकासवास–कालाकाँटे खण्डमा पनि यही नियति दोहोरिनेछ। तर सुरुङ निर्माण गरेमा यी सबै जोखिम समाप्त हुन्छन्। पहिरो, ढुङ्गा खस्ने र मौसमजन्य अवरोधबाट राजमार्ग पूर्ण रूपमा सुरक्षित रहन्छ। चुरेको नाजुक भू–परिस्थिति र वातावरणीय सन्तुलन जोगिन्छ। यात्रुले छिटो, सुरक्षित र भरपर्दो यात्रा पाउँछन्। सबैभन्दा महत्वपूर्ण– लुम्बिनी प्रदेशको राजधानी देउखुरी भालुवाङ भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल १ घण्टा १५ मिनेटको दूरीमा रहनेछ। घुम्तीको थकान र दुर्घटनाको जोखिम पनि हट्नेछ।
प्रस्तावित सुरुङको लम्बाइ करिब ४.१ किमी हुनेछ भने पहुँच सडकसहित कुल निर्माण लागत १८ अर्ब रुपैयाँ अनुमान गरिएको छ। हाल बनकासवास–कालाकाँटे १४ किमी खण्डमा दैनिक ७००० सवारी गुड्छन्। सुरुङ बनेपछि यो दूरी ५.५ किमीमा सीमित हुनेछ। अहिले यो १४ किमी सडकको प्रत्यक्ष–अप्रत्यक्ष खर्च वार्षिक २ अर्ब १२ करोड छ, जसमध्ये १ अर्ब ३८ करोड भारततर्फ इन्धन र स्पेयर पार्ट्समा जान्छ। सुरुङ बनेपछि यो खर्च वार्षिक ३८ करोडमा झर्छ र भारततर्फ केवल १८ करोड मात्र जानेछ। अर्थात्, आठ वर्षभित्रै सुरुङको लगानी प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उठ्नेछ।
सुरुङ बनेपछि पुरानो बनकासवास–सुराहीखोला–धानखोला–कालाकाँटे खण्डलाई जियो टुरिज्मको उत्कृष्ट गन्तव्य बनाउन सकिन्छ। विश्वप्रसिद्ध शिवालिक पर्वतको चट्टान अध्ययन र अवलोकन केन्द्र स्थापना गर्न सकिन्छ। यो सडकलाई एडभेन्चर रोडका रूपमा विकास गरेर बाइकर र साहसिक पर्यटक आकर्षित गर्न सकिन्छ। भारतीय पर्यटकको ठूलो भीड लाग्नेछ र स्थानीय पालिकाहरूलाई आम्दानीको बलियो स्रोत प्राप्त हुनेछ।
सडक आवश्यक छ, तर सुरक्षित, वैज्ञानिक र दिगो सडक अझ बढी महत्वपूर्ण छ। दाउन्नेको गल्ती दोहोर्याउनुको सट्टा आधुनिक भू–इञ्जिनियरिङ र सुरुङ प्रविधिको उपयोग गरौँ। बनकासवास–कालाकाँटे सुरुङले पूर्व–पश्चिम राजमार्गलाई अविरल, सुरक्षित र आर्थिक रूपमा लाभदायक बनाउनेछ। यो केवल सडक होइन, नेपालको विकासको नयाँ अध्याय हो। तसर्थ, सरकारले तत्काल निर्णय गरी यो परियोजनालाई प्राथमिकतामा राख्नैपर्छ। ढिलो भयो भने फेरि अर्बौँ खर्चेर पहिरो पन्छाउने र सडक बन्द हुने नियति दोहोरिनेछ।