• Thursday, March 5, 2026

घुँडामाथि दुवै खुट्टा नभएका हरि बुढामगरको अन्टार्कटिका सर्वोच्च शिखर ‘माउन्ट भिन्सन'आरोहण अभियान सुरु



रोल्पाको थवाङ गाउँपालिका–मिरुलबाट सुन्दर भविष्यको सपना बोकेर १९ वर्षकै उमेरमा ब्रिटिश सेनामा भर्ना भएका थिए—हरि बुढामगर। रोयल गोर्खा राइफल्समा कार्यरत रहँदा ३१ वर्षको उमेरमा सन् २०१० मा अफगानिस्तानको युद्धभूमिमा खटिएको बेला ‘इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस’ विस्फोटमा परेर उनी घुँडामाथि दुवै खुट्टा गुमाउन बाध्य भए।

होस आएपछि आफूलाई अपाङ्ग अवस्थामा देखेर तीन सन्तानका पिता बुढामगरलाई जीवन सकिएको जस्तै लाग्यो। शारीरिक वेदना र मानसिक पीडाले उनलाई निकै समयसम्म थिच्यो, रक्सीको लत बस्यो, कहिलेकाहीँ त जीवन त्याग्ने सोचसम्म जन्मायो। तर परिवार, सन्तान र जीवनप्रतिको प्रेमले उनलाई पुनः उठाएर उभ्यायो।“मर्नु हुँदैन, लडेर बाँच्नुपर्छ,” भन्ने दृढ निश्चय बनेपछि उनले स्कीइङ, गल्फिङ, साइक्लिङजस्ता साहसिक खेलहरूमा आफूलाई व्यस्त गराए। खेलले दिएको आत्मविश्वासले उनको जीवन फेरियो। स्की खेल्न उनी युरोप र अमेरिकासम्म पुगे र अपाङ्गता भएर पनि स्की खेलमा सहभागी हुने नेपालकै पहिलो खेलाडी बने।माउन्टेनियरिङ तालिमपछि प्रशिक्षकसमेत बनेका बुढामगरले सानैदेखि सुनेको—तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको सगरमाथा विजय–कथा—उनको मनमा सदैव प्रेरणाको स्रोत थियो। अन्ततः उनले कृत्रिम खुट्टाको सहायतामा नै विश्वकै अग्लो शिखर सगरमाथा आरोहण गरी नयाँ विश्व कीर्तिमान राखे।जब कसैले सोध्छ—“दुवै खुट्टा नभइकन कसरी सगरमाथा चढ्नुभयो?”—उनको उत्तर सरल तर गहिरो हुन्छ,“मैले खुट्टाले होइन, आत्मबलले सगरमाथा चढेको हुँ।”यतिबेला बुढामगर ‘सेभेन समिट’ अभियानको अन्तिम चरणमा छन्। विश्वका सातै महादेशका सर्वोच्च शिखर आरोहण गर्ने लक्ष्यअनुसार अब उनलाई अन्टार्कटिकाको सर्वोच्च शिखर ‘माउन्ट भिन्सन’ (४,८९२ मि.) मात्रै बाँकी छ, जसको आरोहण डिसेम्बर अन्त्य वा जनवरीको पहिलो साताभित्र पूरा गर्ने लक्ष्य छ। सफल भएमा उनी विश्वकै पहिलो घुँडामाथि दुवै खुट्टा नभएका  व्यक्ति बन्नेछन्, जसले सेभेन समिट पूरा गरेको इतिहासमा नाम लेखाउनेछन्।अपाङ्गता–प्रतिको दृष्टिकोण बदल्न र आफूजस्तै हजारौँ मनहरूलाई प्रेरित गर्न उनले यो अभियान सुरु गरेका हुन्। बुढामगर भन्छन्, “अपाङ्गताप्रतिको सोच परिवर्तन आज नभए भोलि, भोलि नभए पर्सि—तर जीवनभरको प्रतिबद्धता चाहिन्छ। अन्तिम साससम्म म यही काममा समर्पित रहन्छु।”

माउन्ट भिन्सन आरोहण निकै खर्चिलो भएकाले उनले ‘वन–पाउण्ड अभियान’मार्फत १ लाख पाउण्ड संकलन गर्ने लक्ष्य राखेका छन्, जसबाट हालसम्म करिब २० हजार पाउण्ड जुटिसकेको छ।यसअघि उनले मोन्ट ब्ल्यांक (युरोप), किलिमन्जारो (अफ्रिका), सगरमाथा (एसिया), डेनाली (उत्तर अमेरिका), एकोनकागुवा (दक्षिण अमेरिका) र कार्सटेन्ज पिरामिड (ओसिनिया) गरी ६ महादेशका शिखर आरोहण गरिसकेका छन्। डेनाली र कार्सटेन्ज पिरामिड आरोहण गर्ने घुँडामाथि दुवै खुट्टा नभएका व्यक्तिमा बुढामगर विश्वकै पहिलो हुन्।हाल उनका परिवार बेलायतको क्यान्टबरीमा बसोबास गर्छ। गत वर्ष मात्रै उनले बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड प्राप्त गरेका थिए—अदम्य साहस, असम्भवलाई सम्भव पार्ने इच्छाशक्ति र मानव मनोबलको अद्वितीय उदाहरण बनेर।

Please Login to comment in the post!

you may also like