जनकपुरधाममा चलिरहेको सप्ताहव्यापी ऐतिहासिक तथा धार्मिक विवाहपञ्चमी महोत्सव आज पाँचौँ दिन विशेष उल्लासका साथ मनाइएको छ। सोमबार जनकपुरधामस्थित पवित्र एवं ऐतिहासिक गंगासागर क्षेत्रमा जानकीको ‘मटकोर’ विधि सम्पन्न गरिँदै शहरभर उत्सवको रौनक झनै बढेको छ। जानकी मन्दिरका सह–महन्त रामरोशन दास बैष्णवका अनुसार परम्परागत मिथिला संस्कारअनुसार दिउँसो बाजागाजा, शोभायात्रा र धार्मिक विधिपूर्वक मटकोर सम्पन्न गरिएको हो।
मटकोर मिथिला समाजमा विवाहपूर्व गरिने अत्यन्त महत्वपूर्ण संस्कार मानिन्छ। यस दिन बालिकालाई जानकी अर्थात् सीताको प्रतीक मानी विधिपूर्वक गंगासागरको तटमा पुरातन विधिअनुसार माटो उठाइने परम्परा रहिआएको छ। सोहीअनुसार आज सयौँ भक्तजनको उपस्थिति, धार्मिक उत्साह, बाजागाजाको गुञ्जन र मटकोर गीतका मधुर स्वरले सम्पूर्ण जनकपुरधाम भक्तिमय बनेको थियो। सहभागी भक्तजनले विवाहपञ्चमीका संस्कारहरूमार्फत मिथिला सभ्यताका पुराना परम्पराहरू जोगिन मद्दत पुगिरहेको बताए।विवाहपञ्चमी महोत्सव मंसिर ४ गतेदेखि औपचारिक रूपमा सुरु भएको हो। पहिलो दिन नगरदर्शन, दोस्रो दिन फूलबारी–लीला, तेस्रो दिन धनुषयज्ञ तथा चौथो दिन तिलकोत्सव सम्पन्न भइसकेका छन्। विभिन्न दिवसमा जनकपुरमा देश–विदेशबाट आएका भक्तजन, पर्यटक, साधु–सन्त र संस्कृति प्रेमीहरूको ठूलो भीड लागेको छ। शहरका सडक, मठ–मन्दिर, धर्मशाला र बजारहरू राम–सीता, मिथिला कला र सांस्कृतिक झाकीहरूले सुशोभित छन्।महोत्सव समितिका अनुसार मटकोरपछि मंगलबार भगवान् राम र जानकीको डोला फेर गर्ने कार्यक्रम रहेको छ, जहाँ मिथिला–अयोध्या संस्कृतिको संगम झनै भव्य रूपमा प्रकट हुनेछ। त्यसको लगत्तै जनकपुरधामको सबैभन्दा महत्वपूर्ण धार्मिक उत्सव मानिने स्वयंवर तथा विवाहको मुख्य कार्यक्रम सम्पन्न गरिनेछ। यस अवसरमा जनकपुरधाममा लाखौँ भक्तजनको आगमन हुने अनुमान गरिएको छ। प्रशासन तथा सुरक्षा निकायहरूले भीड व्यवस्थापन, यातायात र सुरक्षा व्यवस्थालाई कडा पारेर तयारी पूरा गरेका छन्।विवाहको मुख्य उत्सवपछि बुधबार ‘राम कलेवा’ कार्यक्रममार्फत जन्ती बनेर आएका साधु–सन्त तथा अतिथिहरूलाई मिथिला परम्पराअनुसार बिदाइ गरिँदै विवाहपञ्चमी महोत्सव विधिवत रूपमा सम्पन्न गरिने जनाइएको छ। यिनै धार्मिक अनुष्ठानमार्फत जनकपुरधामले प्रत्येक वर्ष झैँ यसपालि पनि राम–सीताको दिव्य तथा ऐतिहासिक मिलनलाई गौरवका साथ स्मरण गर्दै मिथिला सभ्यताको सांस्कृतिक धरोहरलाई विश्वभर फैलाउने अवसर पाएको छ।
जनकपुरधाममा भेटिएका भक्तजन र स्थानीयवासीहरूका अनुसार विवाहपञ्चमी महोत्सव केवल धार्मिक कार्यक्रम मात्र नभई सांस्कृतिक पहिचान, समुदायबीचको ऐक्यबद्धता र हजारौँ वर्ष पुरानो मिथिला परम्पराको जीवन्त प्रस्तुति हो। आज सम्पन्न मटकोरले भोलि हुने राम–जानकी विवाहको वातावरणलाई अधिक उल्लासपूर्ण बनाएको छ र सम्पूर्ण जनकपुरधाम अहिले नै उत्सवको रङ्गमा रमेको छ।