• Tuesday, March 3, 2026

तीन महिनामा नेपालकाे विदेशी विनिमय सञ्चिति करिब ३ खर्बले बढ्याे


काठमाडौ। नेपालकाे विदेशी विनिमय सञ्चिति पछिल्लो तीन महिनामा उल्लेखनीय रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ताजा तथ्यांकअनुसार २०८२ असार मसान्तदेखि असोज मसान्तसम्मको अवधिमा देशको कुल सञ्चिति करिब ३ खर्बले बढेको हो।

असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति चालु वर्षको असोज मसान्तमा २९ खर्ब ७९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकद्वारा प्रकाशित वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यो सञ्चिति १९.९ महिनाको वस्तु आयात र १६.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त देखिन्छ।

असोज मसान्तसम्म विदेशी विनिमय सञ्चितिको जीडीपी, कुल आयात र विस्तृत मुद्राप्रदायसँगको अनुपात क्रमशः ४८.८ प्रतिशत, १३६.६ प्रतिशत र ३६.८ प्रतिशत रहेका छन्। असार मसान्तमा ती अनुपात क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत थिए।

कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको विदेशी विनिमय सञ्चिति २४ खर्ब १४ अर्ब ६४ करोडबाट १०.५ प्रतिशतले बढेर २६ खर्ब ६७ अर्ब ७० करोड पुगेको छ। यस्तै, बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) ले सञ्चित गरेको विदेशी विनिमय असारको २ खर्ब ६३ अर्ब ४ करोडबाट १८.७ प्रतिशत वृद्धि भई असोजमा ३ खर्ब १२ अर्ब १० करोड पुगेको छ।

असोज मसान्तसम्मको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको हिस्सा २४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

Please Login to comment in the post!

you may also like