• Thursday, March 5, 2026

नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड आजदेखि आफ्नो ८९औँ वर्षमा प्रवेश


नेपालको पहिलो वाणिज्य बैंक नेपाल बैंक लिमिटेड आजदेखि आफ्नो ८९औँ वर्षमा प्रवेश गरेको छ। बैंकले १९९४ साल कात्तिक ३० गते सार्वजनिक–निजी साझेदारीको आधारमा स्थापना भएर देशको बैंकिङ इतिहासमा महत्वपूर्ण अध्यायको सुरुवात गरेको हो। स्थापना कालदेखि नै नेपालमा आधुनिक वित्तीय प्रणालीको जग बसाल्न अग्रणी भूमिका खेलेको यस बैंकले नेपाली मुद्रा प्रचलनमा ल्याउने कार्यदेखि लिएर वित्तीय कारोवारलाई व्यवस्थित बनाउनसम्म उल्लेखनीय योगदान पुर्‍याएको छ।

राष्ट्र बैंक स्थापना हुनुपूर्व नेपाल बैंकले २०१२ सालसम्म देशको कार्यवाहक केन्द्रीय बैंकको रूपमा काम गर्दै बैंकिङ नियमन, मुद्रा प्रचलन, सरकारी ढुकुटी सञ्चालन तथा अन्य मौद्रिक जिम्मेवारी सम्हालेर राष्ट्रको आर्थिक संरचना निर्माणमा ऐतिहासिक भूमिका निर्वाह गरेको थियो।८९ वर्षको यात्रा पूरा गर्दै अहिले बैंकले सेवा विस्तार र आधुनिकिकरणका क्षेत्रमा महत्वपूर्ण प्रगति हासिल गरेको छ। देशभर रहेका दुई सयभन्दा बढी शाखा६० भन्दा धेरै एक्स्टेन्सन काउन्टरमार्फत बैंकले वित्तीय पहुँच विस्तार गरिरहेको छ। यसमार्फत २५ लाखभन्दा बढी ग्राहकलाई विभिन्न प्रकारका बैंकिङ सेवाहरु उपलब्ध गराइरहेको बैंकको भनाइ छ। ग्रामीणदेखि शहरी क्षेत्रमा वित्तीय समावेशीकरणलाई सुदृढ गर्दै बैंकले आर्थिक प्रणालीलाई मजबुत बनाउन निरन्तर योगदान दिइरहेको छ।हालका वर्षहरूमा बैंकले डिजिटल बैंकिङ सेवामा उल्लेख्य सुधार गरेको छ।

नेपाल बैंकका धेरैजसो दैनिक कारोबारहरू डिजिटल माध्यमबाट नै सञ्चालन हुने गरेको छ भने नौ लाखभन्दा बढी ग्राहकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, QR भुक्तानीलगायत डिजिटल सेवाहरू प्रयोग गरिरहेका छन्। प्रविधिको सहजता र पहुँच बढ्दै गएसँगै बैंकले सुरक्षा, द्रुत सेवा र ग्राहकमैत्री प्रणालीलाई प्राथमिकता दिंदै डिजिटल परिवर्तनलाई अझ तीव्र बनाउँदै लगेको जनाएको छ।८९ वर्षको लामो इतिहास बोकेको नेपाल बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवका अवसरमा सेवा गुणस्तर वृद्धि, प्रविधि सुदृढीकरण र ग्राहक संतुष्टिलाई अझ उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ। देशको पहिलो बैंक रहँदै आएको नेपाल बैंकले भविष्यमा पनि राष्ट्रिय आर्थिक विकास, वित्तीय समावेशीकरण तथा डिजिटल बैंकिङ विस्तारमा अग्रणी भूमिका खेल्ने लक्ष्य अघि सारेको छ।

Please Login to comment in the post!

you may also like