• Thursday, March 5, 2026

बाला चतुर्दशी पर्वका लागि पशुपति क्षेत्रमा तयारी तीव्र



विश्व सम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा यस वर्षको बाला चतुर्दशी पर्व नजिकिँदै जाँदा सर्वसाधारण भक्तजनको सहज सहभागिता सुनिश्चित गर्न विस्तृत तयारी थालिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बत्ती, पाल, शतबीज छर्ने मार्ग व्यवस्था, सुरक्षा तथा स्वच्छतासहितका आवश्यक पूर्वाधार निर्माण र मर्मतका कामहरू तीव्र गतिमा जारी छन्। तयारीलाई प्रभावकारी बनाउन सरोकारवाला निकायहरूको सहभागितामा बैठकसमेत सम्पन्न भएको छ, जसले कामको स्पष्ट बाँडफाँट र जिम्मेवारी निर्धारण गरेको छ।

बाला चतुर्दशी पर्व विशेषगरी दिवङ्गत पितृप्रति श्रद्धाञ्जलि अर्पण गर्ने महत्वपूर्ण धार्मिक परम्पराका रूपमा मनाइन्छ। कोषका अनुसार पर्सि मंगलबार रातभर पशुपति क्षेत्रमा दीप प्रज्वलन गरी जाग्राम बस्ने तथा बुधबार बिहान शतबीज छर्ने कार्यक्रमलाई व्यवस्थित बनाउन विशेष व्यवस्था मिलाइएको छ। हरेक वर्ष मंसिर कृष्ण त्रयोदशीको साँझ दिवङ्गत पितृको सम्झनामा बत्ती बाल्ने र चतुर्दशीको बिहान शतबीज छर्ने प्रचलनअनुसार भक्तहरूको भीड बढ्ने भएकाले यस वर्ष व्यवस्थापन अझ कडा बनाइएको कोषले जनाएको छ।मन्दिर परिसरका चारै ढोकामा, विशेषगरी पश्चिम मुख्य प्रवेशद्वारमा, दीप प्रज्वलनका लागि छुट्टै स्थान तोकिएको छ। भक्तजनले बत्ती बालेर रातभर जाग्राम बस्न सक्नेपाल तथा अन्य उपलब्ध स्थानहरू निःशुल्क उपलब्ध गराइनेछ। कसैले पनि कुनै किसिमको शुल्क उठाउन नपाउने कठोर निर्देशन कोषका निमित्त सदस्य–सचिव सुभाषचन्द्र जोशीले जनाएको छ।शतबीज छर्ने क्रममा मन्दिर प्राङ्गण, मुख्य क्षेत्रभित्रका ढुङ्गा छापेका वा पिच गरेका सतहमाथि बीउ नछर्न आग्रह गरिएको छ। सकेसम्म उम्रन सक्ने खाली, माटोयुक्त स्थानमा मात्र बीउ छरेर धार्मिक विधि पूरा गर्न भक्तजनलाई अनुरोध गरिएको छ। साथै, पर्व अवधिभर पशुपति क्षेत्रमा जाँड–रक्सी तथा कुनै पनि प्रकारका नशालु पदार्थ बिक्री, वितरण र सेवन पूर्ण रूपमा निषेध गरिएको छ। यसको निगरानीका लागि कडा अनुगमन व्यवस्था मिलाइने कोषले जनाएको छ।

भक्तजनको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी सहयोग कक्षसँगै एम्बुलेन्ससहितको स्वास्थ्य शिविर स्थापना गरिनेछ, जसले प्राथमिक उपचार सेवा प्रदान गर्नेछ। त्यस्तै, खानेपानी, नुहाउने स्थान तथा पर्याप्त विद्युत् प्रकाशको व्यवस्था पनि सम्पन्न भएको कोषले जानकारी दिएको छ। भक्तजनलाई अत्यधिक महँगादेखि भड्किला गरगहना तथा छालाका जुत्ता–चप्पल नलगाई साधारण रूपमा दर्शन तथा पूजा गर्न समेत अनुरोध गरिएको छ।


Please Login to comment in the post!

you may also like