• Tuesday, March 3, 2026

भारतसँगको विद्युत् खरिद सम्झौताबाट १ अर्ब २० करोड फाइदा : मन्त्री घिसिङ



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारतको पिटिसी इन्डिया लिमिटेडसँग भएको विद्युत् खरिद सम्झौताबाट सरकारलाई करिब १ अर्ब २० करोड रुपैयाँ फाइदा भएको स्पष्ट पारेका छन् । सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सांसदहरूले उठाएको ‘४३ करोड घाटा र आर्थिक चलखेल’ को आरोपलाई खारेज गर्दै मन्त्री घिसिङले तथ्यसहित जवाफ दिएका हुन् ।उनका अनुसार, पिटिसीले यसअघि प्रतियुनिट ८ रुपैयाँ १० पैसा तोकेकोमा अहिलेको सम्झौतामा ६ रुपैयाँ ९५ पैसामा खरिद गरिएको छ । यो दरले सरकारलाई १ अर्ब २० करोडभन्दा बढी लाभ भएको छ । यस्तै, म्यानमारको भियतनामी कम्पनी एमभिविएनले प्रस्ताव गरेको ७ रुपैयाँ ७० पैसाको तुलनामा पनि ७५ करोड रुपैयाँ बचत भएको उनले बताए ।“यो सम्झौता नगरेको भए तत्काल लोडसेडिङ गर्नुपर्ने अवस्था थियो,” मन्त्री घिसिङले भने, “हामीले तीनवटा बजारबाट विद्युत् लिइरहेका छौं – डे अहेड मार्केट, रियल टाइम मार्केट र पिटिसीको लङ टर्म सम्झौता । सबैभन्दा सस्तो दरमा पिटिसीबाट ल्याएका हौं ।”मन्त्री घिसिङले विद्युत् खरिदलाई पूर्ण रूपमा स्वचालित र पारदर्शी बनाइएको पनि जानकारी दिए । डे अहेड मार्केटमा हरेक दिन बिहान १० बजेसम्म बिड गरेर भोलिको १२ बजेसम्मको विद्युत् खरिद गरिन्छ, जसको दर स्वतः निर्धारण हुन्छ । यस्तै, रियल टाइममा पनि आवश्यकता अनुसार तत्काल खरिद गरिन्छ ।सांसदहरूले उठाएको ‘गैरकानूनी र महँगो दरमा खरिद’ को आरोपमा मन्त्री घिसिङले भने, “यो पूर्ण रूपमा कानूनी र सबैभन्दा कम दरमा भएको सम्झौता हो । यसलाई घाटाको रूपमा प्रस्तुत गर्नु गलत हो ।”नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षमा भारतबाट दैनिक औसत १,२०० मेगावाटसम्म विद्युत् आयात गरिरहेको छ । मन्त्री घिसिङले आगामी सुख्खायाममा पनि लोडसेडिङ नहुने गरी तयारी भइरहेको र आन्तरिक उत्पादन बढाउँदै आयात क्रमशः घटाउने योजना रहेको बताए ।यो स्पष्ट जवाफपछि समितिका सांसदहरूले मन्त्री घिसिङको प्रयासको प्रशंसा गरेका छन् भने विपक्षी सांसदहरूले पनि तथ्यमा आधारित जवाफले शङ्का निराकरण भएको बताएका छन् ।

Please Login to comment in the post!

you may also like