काठमाडौं। प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली आज सार्वजनिक गरिने भएको छ। निर्वाचन आयोगको निर्वाचन कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध उजुरी दिने कार्यतालिका हिजो सम्पन्न भएको हो।
आयोगका अनुसार प्राप्त उजुरीमाथि आवश्यक जाँचबुझ तथा निर्णय गरी आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। निर्वाचन आयोगले जनाएको अनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारमध्ये पाँच जनाविरुद्ध उजुरी परेको छ। ती उजुरी भक्तपुर, सुनसरी, रौतहट र कैलाली जिल्लाबाट उम्मेदवारी दिएका उम्मेदवारहरूमाथि दर्ता भएका हुन्।
उजुरीमाथि आयोगले कानुनबमोजिम छानबिन प्रक्रिया अघि बढाएको र सोही आधारमा योग्य ठहरिएका उम्मेदवारहरूको अन्तिम सूची सार्वजनिक गरिने आयोगले जनाएको छ।