काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै राजनीतिक दललाई आफ्ना चुनावी घोषणापत्रमा अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रले अघि सारेका एजेण्डालाई प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेका छन्।
नुवाकोटको विदुरमा आयोजित नुवाकोट महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले मुलुक निर्वाचनको तयारीमा रहेको र सबै राजनीतिक दल यतिबेला चुनावी घोषणापत्र लेखनको चरणमा रहेको उल्लेख गरे। यस्तो अवस्थामा निजी क्षेत्रका प्राथमिकताका विषयलाई घोषणापत्रमा समेट्नु आवश्यक रहेको उनले बताए।
उनले मुलुकको समग्र आर्थिक विकास सबै राजनीतिक दलको साझा एजेण्डा बन्नुपर्नेमा जोड दिँदै भने, “देशको अर्थतन्त्र मजबुत बनाउन निजी क्षेत्रसँग सहकार्य अपरिहार्य छ। जुनसुकै दलको सरकार आए पनि अर्थतन्त्र सबैको साझा विषय बन्नुपर्छ।”
अध्यक्ष ढकालले निजी क्षेत्रले रोजगारी सिर्जना, उत्पादन वृद्धि र आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याए।