अमेरिकाको भ्याक्सिन सल्लाहकार प्यानल ले नवजात शिशुहरूलाई जन्मपछि तुरुन्तै हेपाटाइटिस बी खोप सिफारिस गर्ने लामो परम्परा समाप्त गर्ने निर्णय गरेको छ। प्यानलले ८–३ को मतान्तरले हेपाटाइटिस बी नेगेटिभ परीक्षण आएकी आमाबाट जन्मिएका बच्चाहरूलाई खोप दिनेबारे “व्यक्तिगत आधारमा निर्णय गर्ने” नीति अपनाउन समर्थन गरेको हो। यसअघि जून महिनामा स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियर, जो भ्याक्सिनप्रति आलोचक मानिन्छन्,ले भ्याक्सिन सल्लाहकार प्यानल का सबै सदस्य हटाएर टीकाप्रति आलोचनात्मक दृष्टिकोण राख्ने नयाँ सदस्यहरू नियुक्त गरेका थिए। अमेरिकामा सन् १९९१ देखि नवजात शिशुहरूलाई हेपाटाइटिस बी खोप सिफारिस हुँदै आएको छ, जसले झण्डै ९० हजार ज्यान बचाएको अनुमान छ।निर्णय सार्वजनिक केही घण्टामै राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाभरका बालबालिकाका खोप सिफारिसहरू पुनरावलोकन गर्न आफ्ना शीर्ष स्वास्थ्य अधिकारीहरूलाई निर्देशन दिए। उनले अन्य विकसित देशका खोप तालिकासँग तुलना गर्न र यदि त्यहाँका अभ्यास राम्रो मानिए परिवर्तन गर्न आग्रह गरेका छन्। ट्रम्पले भ्याक्सिन सल्लाहकार प्यानल को निर्णयलाई “धेरै राम्रो” भन्दै प्रशंसा पनि गरेका छन्। भ्याक्सिन सल्लाहकार प्यानलले CDC लाई खोप सिफारिसहरू प्रस्ताव गर्छ र अन्तिम निर्णय CDC का कार्यवाहक प्रमुखले लिन्छन्।
नयाँ मार्गदर्शनअनुसार जन्ममा खोप नपाएका शिशुहरूले पहिलो डोज दुई महिनाअघि नपाउनु पर्ने सुझाव दिएको छ, जसको केही सदस्यहरूले कडा आपत्ति जनाए। सार्वजनिक स्वास्थ्य विज्ञहरूले यो निर्णयले अनावश्यक भय सिर्जना गर्न सक्ने, अभिभावकहरूलाई खोप नलगाउनेतर्फ प्रेरित गर्न सक्ने र रोगको जोखिम बढाउन सक्ने चेतावनी दिएका छन्। भ्याक्सिन सल्लाहकार प्यानल का डा. कोडी माइस्नरले खोप सुरक्षित र अत्यन्त प्रभावकारी भएको प्रमाणित भइसकेको बताउँदै नयाँ प्रस्ताव स्वीकारेमा बालक, किशोर र वयस्कहरूमा हेपाटाइटिस बी संक्रमण बढ्ने चेतावनी दिए।हेपाटाइटिस बी पोजिटिभ आमाबाट जन्मिएका बच्चाहरूलाई भने जन्ममै खोप दिने सिफारिस कायम राखिएको छ। हेपाटाइटिस बी संक्रमित व्यक्तिहरूमा प्रायः लक्षण नदेखिने भएकाले उनीहरूले आफैलाई संक्रमण भएको थाहा नपाई बच्चा र नवजातहरूको हेरचाह गर्ने क्रममा भाइरस संक्रमित गराउन सक्ने जोखिम हुन्छ।
यो विवादित निर्णय दुई दिनको तनावपूर्ण छलफलपछि आएको हो। बैठकमा केही सदस्यहरूले संयुक्त खोप सिफारिस हटाउने प्रयासलाई आधारहीन संशयमा आधारित रहेको भन्दै विरोध गरे। तर परिवर्तनका समर्थकहरूका अनुसार अमेरिकाको जन्मसिद्ध खोप नीति अन्य मुलुकसँग “मेल न खाने” भएकाले यसलाई परिमार्जन गर्नुपर्छ। विश्व स्वास्थ्य संगठनले जन्म, एक महिना र छ महिनाको तालिका सिफारिस गर्छ भने बेलायतमा ८, १२ र १६ हप्तामा खोप दिने नीति छ।जन्ममै खोप नदिनु पर्ने पक्षले संक्रमणको जोखिम कम हुने तर्क गरे पनि चिकित्सकहरूले सबै गर्भवती महिलाहरूलाई परीक्षण उपलब्ध नभएको, कतिले गलत नतिजा पाउने सम्भावना रहने हुँदा धेरै शिशुहरू जोखिममा पर्ने बताएका छन्। केनेडी र उनका समर्थकहरूले हेपाटाइटिस बी मुख्यत: यौन सम्पर्क र सुई साटासाटबाट फैलिने दाबी गरे पनि अनुसन्धानहरूले दाँत ब्रस, रेजर लगायत साझा वस्तुबाट पनि अप्रत्यक्ष रूपमा फैलिन सक्ने देखाएको छ।स्वास्थ्य नीतिमा केनेडीले नेतृत्व लिएयता धेरै परिवर्तन भएका छन्। यस निर्णयले रिपब्लिकन सिनेटर तथा चिकित्सक बिल क्यासिडीको कडा आलोचना निम्त्यायो। उनले हेपाटाइटिस बी खोप सुरक्षित र प्रभावकारी भएकाले जन्ममै डोज दिने परम्परालाई हटाउनु गल्ती भएको बताए। निर्णयपछि अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सको सिफारिस आधार बनाउँदै म्यारिल्यान्डको स्वास्थ्य विभागले जन्ममै हेपाटाइटिस बी खोप लगाउन जारी राख्न स्वास्थ्यकर्मीहरूलाई आग्रह गरेको छ।