• Tuesday, March 3, 2026

विदेशी पर्यटकका लागि टिम्स कार्ड अनिवार्य गर्न टानको आग्रह


काठमाडौं। ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई सुरक्षित पदयात्राका लागि अनिवार्य रूपमा पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) कार्ड लिनुपर्ने व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेको छ।

टानका महासचिव सोनाम ग्याल्जेन शेर्पाले बिहीबार जारी गरेको विज्ञप्तिमा विदेशी नागरिकका लागि टिम्स कार्ड अनिवार्य गरी मात्र पदयात्रामा सहभागी हुन दिने व्यवस्था मिलाउन माग गरिएको छ। साथै, नेपाली पदयात्रीका लागि समेत पर्याप्त जानकारी र तयारीसहित मात्रै पदयात्रा गर्न सक्ने वातावरण बनाउन सरकारलाई अनुरोध गरिएको छ।

विज्ञप्तिमा उल्लेख भएअनुसार, पदयात्री र पदयात्रामा संलग्न श्रमिकहरूको सुरक्षाका लागि सुरु गरिएको टिम्स प्रणाली पूर्ण रूपमा कार्यान्वयन हुन नसक्दा, पदयात्रामा निस्किएका विदेशी पर्यटक र उनीहरूका सहयोगीहरूको गन्तव्य पहिचान र उद्धार कार्यमा कठिनाइ देखिएको टानले जनाएको छ।

टानका अध्यक्ष सागर पाण्डेले विना पथप्रर्दशक र पूर्वतयारी पदयात्रा गर्ने प्रवृत्ति बढ्दै गएपछि स्वदेशी पदयात्रीहरू समेत लेक लाग्ने र विपद्का कारण ज्यान गुमाउने घटनाहरू बढेका बताएका छन्।

उनका अनुसार, पर्यटकको एकीकृत तथ्यांकको अभाव, प्रविधि प्रयोगमा कमजोरी, विपद् न्यूनीकरणमा अपर्याप्त तयारी र तत्काल उद्धारका लागि स्रोत-साधनको कमीका कारण सम्बन्धित निकायहरूले अपेक्षाअनुसार भूमिका निर्वाह गर्न नसकेको उल्लेख गरिएको छ।

टानले हालैको असामान्य वर्षा र हिमपातका कारण मनास्लु, रोल्वालिङलगायतका क्षेत्रहरूमा ज्यान गुमाएका आरोही, पदयात्री र पथप्रदर्शकप्रति श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता भएकाहरूको शीघ्र पहिचान, उद्धार र सकुशल घर फर्कन प्रार्थना गरेको छ।

Please Login to comment in the post!

you may also like