• Tuesday, March 3, 2026

‘जारी २’ टिमको आग्रह : फिल्म प्रदर्शन अघि साउण्ड टेस्ट रन गर्न अनुरोध


काठमाडौँ, कात्तिक २१ गते। भोलिदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘जारी २’ को टिमले देशभरका हल सञ्चालकलाई फिल्मको साउण्ड लेबल सम्बन्धी जानकारी दिँदै फिल्म प्रदर्शन अघि एक पटक साउण्ड टेस्ट रन गर्न अनुरोध गरेको छ।

फिल्म निर्माण पक्ष बाँसुरी फिल्म्सले बिहीबार एक विज्ञप्ति जारी गर्दै “जारी २” को मिक्सिङ डल्बीको फेडर यूनिट ५.८ मा गरिएको जनाउँदै सिनेमा हलमा फरक–फरक साउण्ड प्रेसर लेभलका कारण एउटै फिल्मको ध्वनि असन्तुलित रूपमा सुनिने समस्या समाधान गर्न टेस्ट रन आवश्यक भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा भनिएको छ,

“अघिल्ला फिल्म प्रदर्शनका अनुभवअनुसार हलहरूले प्रोसेसर यूनिट ३ देखि ४.५ सम्म फरक–फरक अडियो लेभल प्रयोग गर्ने गरेका छन्, जसले एउटै फिल्मको साउण्ड फरक–फरक सुनिने अवस्था सिर्जना गर्छ। यसले हलको प्रणाली डल्बी मापदण्डअनुसार क्यालिब्रेट भएको छ कि छैन भन्ने निर्धारण गर्न कठिन बनाउँछ।”

फिल्मको मिक्सिङ डल्बी फेडर यूनिट ५.८ मा गरिएको र हलमा प्रदर्शन अघि फेडर यूनिट ५ मा टेस्ट रन गरी आवश्यक साउण्ड एड्जस्ट गर्न आग्रह गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।

टिमले थप स्पष्ट पारेको छ कि कतिपय हलहरूले “साउण्ड बढी हुन्छ” भन्दै भोल्यूम घटाउने अभ्यास गर्ने भएकाले साउण्ड डिस्टोर्सन र गुणस्तरमा कमी आउने गरेको छ। यो अभ्यास गलत भएको उल्लेख गर्दै भविष्यमा फिल्महरूलाई फेडर यूनिट ७ मा मिक्सिङ गरी दर्शकलाई अझ उत्कृष्ट श्रव्य अनुभव दिने लक्ष्य राखिएको छ।

उपेन्द्र सुब्बाको निर्देशनमा बनेको ‘जारी २’ मा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ र ऋचा शर्माको मुख्य भूमिका रहेको छ।
फिल्मलाई बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको संयुक्त व्यानरमा निर्माण गरिएको हो।

Please Login to comment in the post!

you may also like