• Tuesday, March 3, 2026

बालेनविरुद्ध उजुरी दिने गुरुङ्गमाथि नै साइबर शाखामा पुरानो जाहेरी खुलेको


काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहविरुद्ध आज साइबर ब्यूरोमा उजुरी दर्ता गर्न पुगेका नेकपा (एमाले) निकट भातृ संगठन राष्ट्रिय युवा संघ, नेपालका केन्द्रीय उपाध्यक्ष महाराज गुरुङ्गमाथि समेत सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा जाहेरी परेको खुलेको छ।

स्रोतका अनुसार, पूर्वमन्त्री तथा एमाले नेता महेश बस्नेतसँग ‘लिभिङ टुगेदर’ सम्बन्धमा रहेकी शोभा पाठकले २०८१ माघ महिनामा महाराज गुरुङ्गसहित मंगल थापा र सुमन पुरीविरुद्ध जिल्ला प्रहरी परिसर, काठमाडौंमा जाहेरी दिएकी थिइन्। उनले ती व्यक्तिहरूमाथि फेसबुकलगायत सामाजिक सञ्जालमार्फत आफ्नो चरित्रहत्या गरेको आरोप लगाउँदै तत्काल कानुनी कारबाहीको माग गरेकी थिइन्।

जाहेरी परेपछि जिल्ला प्रहरी परिसरले सो मुद्दा ‘कानुन बमोजिम प्रक्रिया अघि बढाउने’ भन्दै साइबर शाखातर्फ पठाएको थियो। तर, हालसम्म सो प्रकरणमा कुनै ठोस कारबाही नभएको बताइन्छ।

उता, सोही महाराज गुरुङ्ग आज मेयर बालेन साहविरुद्ध उजुरी दर्ता गर्न साइबर ब्यूरो पुगेका हुन्। यसरी बालेनविरुद्ध उजुरी गर्न जाने व्यक्तिमाथि स्वयं सामाजिक सञ्जालमार्फत चरित्रहत्या मुद्दा विचाराधीन अवस्थामा रहेको खुलासा भएपछि यो विषयले थप चासो उत्पन्न गरेको छ।

राजनीतिक वृत्तमा यो घटनालाई “दोहोरो मापदण्ड” भन्दै आलोचना भइरहेको छ, भने प्रहरी अधिकारीहरूले दुबै प्रकरण कानुनी प्रक्रिया अनुसार अघि बढाइने बताएका छन्।

Please Login to comment in the post!

you may also like