टेक्सासको अष्टिनमा मुख्यालय रहेको टेस्लाका शेयरधारकहरूले बिहीबार एक यस्तो तलब योजना स्वीकृत गरेका छन् जसले कम्पनीका प्रमुख कार्यकारी एलन मस्कलाई संसारको पहिलो ट्रिलियनियर बन्ने बाटो खोलिदिन सक्छ। यो निर्णय दुई दिनपछि आएको हो जब न्युयोर्क सहरले "धनीहरूलाई कर लगाऊ" भन्ने नीतिमा चुनाव लडेका जोहरन मम्दानीलाई मेयरको रूपमा चुनेको थियो। यी दुई घटनाहरूले अमेरिकामा आर्थिक असमानता र सम्पत्तिको बाँडफाँटबारे फरक–फरक दृष्टिकोणलाई प्रष्ट देखाउँछन्।
टेस्लाको नयाँ १२ चरणको योजना अनुसार, मस्कले कम्पनीको बजार मूल्य करिब १.४ ट्रिलियन डलरबाट बढाएर ८.५ ट्रिलियन डलर पुर्याउनुपर्नेछ। साथै, उनले एक मिलियन मानवजस्तै रोबोट बेचना र १० मिलियन जना प्रयोगकर्तालाई स्वचालित ड्राइभिङ सफ्टवेयरको सदस्यता लिन प्रेरित गर्नुपर्नेछ। यदि यी लक्ष्यहरू पूरा भए भने मस्कलाई करिब १ ट्रिलियन डलर मूल्यका सेयर प्राप्त हुनेछन्।मतदानपछि मस्कले समर्थकहरूलाई धन्यवाद दिँदै भने, “हामी केवल टेस्लाको अर्को अध्यायमा प्रवेश गरिरहेका छैनौं, यो त नयाँ पुस्तकको सुरुवात हो।”
तर सबैजना सन्तुष्ट छैनन्। न्युयोर्क र क्यालिफोर्नियाका सार्वजनिक पेन्सन फण्डका अधिकारीहरूले यो योजना “अत्यधिक ठूलो र खतरनाक शक्ति केन्द्रित गर्ने” भन्दै विरोध गरे। न्युयोर्कका कम्प्ट्रोलर थोमस डिनापोलीले भने, “यो ‘प्रदर्शनको तलब’ होइन, ‘अनियन्त्रित शक्तिको तलब’ हो।”त्यस्तै, पोप लियो चौधौंले पनि टिप्पणी गर्दै भने कि मस्कको यस्तो तलब असमानताको गहिरो समस्या हो, विशेष गरी जब २०२४ मा औसत टेस्ला कर्मचारीको वार्षिक आम्दानी केवल ५७ हजार डलर थियो।मस्कका समर्थकहरू भने यो निर्णयलाई “जोखिमसहितको महत्वाकांक्षी” योजना भन्दै बचाउ गर्छन्। फ्लोरिडा राज्यको सार्वजनिक पेन्सन फण्डले आफ्नो मत दिंदै भनेको थियो, “टेस्ला विगतमा पनि दिवालिया हुनबाट विश्व नेतृत्वमा पुग्न सफल भएको कम्पनी हो — त्यसैले यसले ‘मूनशट प्रदर्शन’का लागि यस्तो प्रोत्साहन मोडेल प्रयोग गर्न पाउनुपर्छ।”मस्कका आलोचकहरूले भने यसले कम्पनीमा अत्यधिक निर्भरता सिर्जना गर्ने बताउँदै चेतावनी दिएका छन्।
नर्वेको सम्पत्ति कोष Norges Bank Investment Management ले त यस योजनाविरुद्ध मत दिएको थियो, “मस्कको दृष्टिकोणको सम्मान गरिए पनि यो योजना अत्यधिक ठूलो छ र कम्पनी एक व्यक्तिमाथि धेरै निर्भर बनाउने जोखिम बोकेको छ,” भन्दै।टेस्लाका सञ्चालक मण्डलका अध्यक्ष रोबिन डेनहोल्मले भने यो योजना कम्पनीको अर्को “विकास, नवप्रवर्तन र मूल्य सिर्जनाको चरणलाई सुपरचार्ज गर्न” बनाइएको स्पष्ट गरे।यसअघि २०१८ मा मस्कको १२८ अर्ब डलर मूल्यको तलब प्याकेजलाई डेलावेयरका न्यायाधीशले “त्रुटिपूर्ण प्रक्रियामा स्वीकृत” भन्दै रद्द गरेका थिए, जुन मुद्दा अहिले सर्वोच्च अदालतमा अपिलमा छ।यसबीच, राजनीतिक रूपमा मस्कको यो सफलता डेमोक्र्याटहरूका लागि नयाँ बहसको विषय बनेको छ। विस्कन्सिनका डेमोक्र्याटिक नेतृ बेन विकलरले व्यङ्ग्य गर्दै भने, “रिपब्लिकन पार्टीका सबैभन्दा ठूलो दातासँग अहिले ‘रोबोट सेनासहितको ट्रिलियनियर’ बन्ने बाटो खुलेको छ।”शेयरधारकहरूले मस्कको अर्को कम्पनी xAI मा टेस्लाले लगानी गर्ने प्रस्तावलाई पनि गैर-बाध्यकारी रूपमा समर्थन गरेका छन्। कम्पनीका कानूनी सल्लाहकारका अनुसार, बोर्डले अब यस विषयमा आगामी कदमबारे अध्ययन गर्नेछ।