• Thursday, March 5, 2026

खुट्टा गुमाएका राजेशले अस्पतालको बेडबाटै जन्माए जनआन्दोलन पार्टी (जेन–जी)



विराटनगर — दुवै खुट्टा गुमाएर अस्पतालको बेडमा छट्पटाइरहेका २८ वर्षीय राजेश पोर्तेलले नयाँ राजनीतिक पार्टी जन्माएका छन् । उनले पार्टीको नाम राखेका छन् – “जनआन्दोलन पार्टी (जेन–जी)” । पार्टी दर्ताका लागि उनले निर्वाचन आयोगमा निवेदन दिइसकेका छन् । बेडमै बसेरफको थालमा खुट्टा राखेर, दुखाइसँग लड्दै उनले हस्ताक्षर गरेका कागजातहरू आयोग पुगिसकेका छन् ।राजेश इलामको सूर्योदय नगरपालिका–१० फिक्कलका बासिन्दा हुन् । भदौ २३ गतेसम्म उनी विर्तामोडमा सुनचाँदी कारखानामा काम गर्थे । दैनिकी सामान्य थियो । तर भदौ २४ को बिहान काठमाडौंबाट आयो त्यो खबर – सरकारले १९ जना निहत्था विद्यार्थीमाथि गोली चलायो । त्यो खबरले राजेशको मन जल्यो । औजार हातबाट झारेर उनी सडकमा निस्किए । “यो त राज्यले नै हत्या गर्‍यो, चुप लागेर बस्न सकिनँ,” उनले भने ।देशभर आन्दोलनको ज्वालामुखी फुटिसकेको थियो । राजेश पनि हजारौं युवाको भिडमा मिसिए । उनी शान्तिपूर्ण जुलुसमा सहभागी भएर फर्कने सोचमा थिए । तर सडकको आगोले उनलाई फर्किन दिएन । विर्तामोडको ट्राफिक चोकमा तनाव चर्कियो । आन्दोलनकारी र प्रहरीबीच झडप भयो । पाँचथरका कमल भण्डारी राजेशको अघिल्तिरै गोली लागेर ढले । त्यो दृश्य देखेपछि राजेशको रगत उम्लियो । उनी अगाडि बढे । त्यही बेला प्रहरीको गोलीले उनको दुवै खुट्टा छेड्यो ।“मलाई त गोली लाग्यो भनेर थाहै भएन । साथीहरूले बोकेर अस्पताल पुर्‍याए,” राजेशले सम्झन्छन्, “बिउँझदा दुवै खुट्टा थिएनन् । तर मनमा आगो अझ बल्यो ।”अस्पतालको बेडमा सुत्दा–सुत्दै उनले साथीहरूसँग छलफल गरे । “अन्तरिम सरकारले हाम्रो माग पूरा गरेन । सहिदको रगत र हाम्रो खुट्टा खेर गयो जस्तो लाग्यो,” उनले भने, “त्यही बेला सोचें – अब सडकको आन्दोलनले मात्र पुग्दैन, हामीले आफ्नै पार्टी बनाउनुपर्छ । सहिद र घाइतेको सपना साकार पार्नुपर्छ ।”राजेशका अनुसार, उनको पार्टीको मुख्य एजेन्डा यी हुन् :
  • सहिद र घाइतेलाई न्याय
  • दोषीमाथि कारबाही
  • संविधान संशोधन र संघीयता खारेज
  • युवालाई रोजगारी र सम्मान
  • भ्रष्टाचारको अन्त्य
उनी भन्छन्, “हामी जेन–जीको आन्दोलनलाई राजनीतिक शक्तिमा बदल्न चाहन्छौं । सडकबाट सुरु भएको आगो अब संसदभित्र पुग्नुपर्छ ।”अहिले राजेश बीएण्डसी अस्पतालको बेड ४१२ मा छन् । दुवै खुट्टा घुँडामाथिबाट काटिएको छ । कृत्रिम खुट्टा जडान गर्न लाखौं रुपैयाँ चाहिन्छ । तर उनी हाँसेर भन्छन्, “खुट्टा गुम्यो, तर सपना मरेन । म फेरि उभिनेछु, यो देशका लागि ।”उनका साथीहरू भन्छन् – राजेशले अस्पतालबाटै पार्टीको विधान लेखे, झण्डा डिजाइन गरे, केन्द्रीय समिति बनाए । निर्वाचन आयोगमा दर्ता प्रक्रिया अघि बढिसकेको छ ।राजेशले अन्तिममा भने, “हाम्रो आन्दोलन गोलीले रोकेन, अब मतपत्रले रोक्न सक्दैन । सहिदको सपना पूरा नभएसम्म हामी लडिरहन्छौं ।”यो खबरले देशभरका घाइते र सहिद परिवारमा नयाँ आशा जगाएको छ । धेरैले सामाजिक सञ्जालमा लेखेका छन् – “राजेशजस्ता युवाले देश जोगाउँछन् ।”

Please Login to comment in the post!

you may also like