काठमाडौं, १४ सेप्टेम्बर २०२५ – क्याथे प्यासिफिक एयरवेजले हालको परिस्थितिका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान अस्थायी रूपमा स्थगित गरेको छ। एयरलाइन्सले विमानस्थलका महाप्रबन्धकलाई पठाएको पत्रअनुसार फ्लाइट सीएक्स ६४० (हङकङ–काठमाडौं–हङकङ) १५ सेप्टेम्बरदेखि ३० सेप्टेम्बर २०२५ सम्म सञ्चालन हुनेछैन। कम्पनीले १ अक्टोबर २०२५ देखि अवस्थाको समीक्षा गरी उडान पुनः सञ्चालन गर्ने जनाएको छ।
स्रोतका अनुसार, क्याथेका पाइलट र क्याबिन क्रू बस्ने होटल हयातमा भएको आक्रमणको घटनापछि यो निर्णय लिइएको हो। “क्याथे आफ्ना कर्मचारीको सुरक्षाप्रति अत्यन्त संवेदनशील छ,” स्रोतले भन्यो, “नेपालको सुरक्षा अवस्थालाई मूल्यांकन गरेर मात्र उडानलाई निरन्तरता दिने निर्णय हुनेछ।”
एयरलाइन्सले यात्रुहरूलाई अग्रिम जानकारी दिइसकेको छ र टिकट रिफन्ड, रूट परिवर्तन वा पछिको मितिमा बुकिङको सुविधा उपलब्ध गराएको छ। साथै, यात्रुहरूलाई आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ। यो निर्णयको जानकारी विमानस्थल सुरक्षा, भन्सार, नागरिक उड्डयन, इमिग्रेसन र सम्बन्धित विभागहरूलाई दिइएको छ।
यसअघि क्याथेले दैनिक हङकङ–काठमाडौं–हङकङ उडान सञ्चालन गर्दै आएको थियो। नेपालमा पर्यटक ल्याउने प्रमुख वायुसेवामध्ये एक क्याथे सन् १९९७ देखि ड्र्यागन एयरका नाममा र सन् २००७ देखि क्याथे प्यासिफिकका नाममा उडान सञ्चालन गर्दै आएको छ