• Sunday, October 19, 2025

नेपालमा दशैंको टीकापछि भारी वर्षाको सम्भावना, बाढी-पहिरोको जोखिम : सतर्क रहन आग्रह


काठमाडौं – नेपालमा दशैंको टीकाको भोलिपल्टदेखि भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्। यो वर्षाले बाढी, पहिरो, डुबान, कटान र बालीनालीमा क्षति पुर्‍याउने जोखिम रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।मौसम पूर्वानुमानमा प्रयोग हुने युरोपियन मोडेल (ईसीएम डब्लुएफ), जर्मन मोडेल (आइकोन) र अमेरिकन मोडेल (ग्लोबल फरकास्ट सिस्टम–जीएफएस) ले असोज १७ गतेदेखि नेपाल र छिमेकी देशहरूमा भारीदेखि अति भारी वर्षा हुने संकेत गरेका छन्। बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र भारतको ओडिसा हुँदै मध्य भारततर्फ सर्ने र त्यसले नेपालमा जलवाष्पयुक्त मनसुनी वायु भित्र्याउने विभागले जनाएको छ।

  • असोज १७ (एकादशी): पूर्वी नेपालबाट मनसुनी गतिविधि सक्रिय हुँदै कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने। कोशी, बागमती, गण्डकी र लुम्बिनीका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना।
  • असोज १८ (द्वादशी): कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा। यी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना।
  • असोज १९ (त्रयोदशी): कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा वर्षा। कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा र एक–दुई स्थानमा अति भारी वर्षाको जोखिम।
  • असोज २१ सम्म: वर्षाको प्रभाव कायम रहने र बागमती प्रदेश सबैभन्दा बढी प्रभावित हुने। असोज २१ साँझदेखि यो प्रणाली कमजोर हुँदै रातिसम्म नेपालभर वर्षा रोकिने संकेत छ।

नेपालमा मनसुन सरदर अक्टुबर २ (असोज १६) मा बाहिरिने भए पनि यस वर्ष केही दिन ढिलो बाहिरिने देखिएको छ। यो वर्ष मनसुन असार १६ मा भित्रिएको थियो, जुन सरदरभन्दा १५ दिन छिटो हो। यद्यपि, मनसुन अवधिमा देशका सबै क्षेत्रमा अपेक्षित वर्षा नभएको र मधेश प्रदेशले लामो समय खडेरीको सामना गर्नुपरेको थियो। तर, दशैंको टीकापछि मधेशमा समेत वर्षा हुने प्रक्षेपण छ।जल तथा मौसम विज्ञान विभागले जारी गरेको विशेष बुलेटिनमा वर्षाले सडक र हवाई यातायात प्रभावित हुन सक्ने, बाढी, पहिरो, डुबान र कटानको जोखिम रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। जलवायु अध्येता डा. धर्मराज उप्रेतीले बागमती प्रदेशमा वर्षाको प्रभाव डरलाग्दो हुने बताएका छन्।“यस वर्षको दशैं अवधिमा मनसुनी वायु सक्रिय रहने र अन्त्यमा झन् प्रभावकारी हुने देखिन्छ। मौसमको अद्यावधिक जानकारी लिई आवश्यक सावधानी अपनाउन सबैलाई आग्रह छ,” विभागको बुलेटिनमा उल्लेख छ।यस वर्षको दशैंमा मौसमको जोखिमलाई ध्यानमा राखी सुरक्षित र सतर्क रहन सबैमा अनुरोध छ।

Please Login to comment in the post!

you may also like