अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा जारी इसाईहरूमाथिको हिंसा र हत्या तत्काल रोकिएन भने अमेरिकाले नाइजेरियालाई प्रदान गर्दै आएको सबै आर्थिक र सैन्य सहायता तुरुन्त रोकिने चेतावनी दिएका छन्।ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत लेख्दै भनेका छन्, “यदि नाइजेरियाली सरकारले निर्दोष इसाईहरूको हत्या रोक्न सकेन भने, अमेरिका केवल सहायता बन्द गर्ने छैन, आवश्यक परे सैन्य हस्तक्षेप पनि गर्न सक्छ।” उनका अनुसार उनले सम्भावित सुरक्षा कारबाहीको तयारीका लागि आफ्नो ‘डिपार्टमेन्ट अफ वार’लाई आदेश दिइसकेका छन्।मानवअधिकार संगठन इन्टरनेशनल सोसाइटी फर सिभिल लिबर्टीज एन्ड द रूल अफ ल को प्रतिवेदन अनुसार, जनवरीदेखि अगस्ट १० सम्म नाइजेरियामा धार्मिक हिंसाका घटनामा सात हजारभन्दा बढी इसाईहरूको हत्या भएको छ। यी आक्रमणका लागि बोको हराम र फुलानी अतिवादी जस्ता आतंकवादी समूहहरूलाई जिम्मेवार ठहर गरिएको छ।यसबीच नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनुबूले आफ्नो देश धार्मिक रूपमा सहिष्णु रहेको बताउँदै संविधानले सबै धर्महरूको समान सुरक्षा सुनिश्चित गरेको बताए। उनले भने, “नाइजेरियाको पहिचान नै धार्मिक स्वतन्त्रता र समान सम्मानमा आधारित छ। हामी कुनै पनि प्रकारको धार्मिक उत्पीडनलाई स्वीकार गर्दैनौं।”नाइजेरियाको विदेश मन्त्रालयले पनि धर्म, जाति वा नश्ल जे भए पनि सबै नागरिकको सुरक्षामा सरकार प्रतिबद्ध रहेको स्पष्ट गरेको छ।
केही हप्ताअघि अमेरिकी सिनेटर टेड क्रुजले पनि अमेरिकी कंग्रेसमा नाइजेरियालाई “धार्मिक स्वतन्त्रता उल्लंघन गर्ने देश”को सूचीमा राख्न माग गरेका थिए। ट्रम्पले उक्त मागलाई समर्थन गर्दै नाइजेरियामा इसाईहरू अस्तित्वको संकटमा परेको र “उग्र इस्लामवादी समूहहरूले योजनाबद्ध रूपमा उनीहरूलाई लक्षित गरिरहेका छन्” भन्ने टिप्पणी गरेका थिए।हाल नाइजेरियाको करिब २२ करोड जनसंख्यामा मुस्लिम र इसाईहरूको संख्या लगभग बराबरी रहेको अनुमान छ। लामो समयदेखि बोको हराम र अन्य अतिवादी इस्लामिक समूहहरूले देशमा हिंसात्मक गतिविधि गर्दै आएका छन्।