काठमाडौ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा नयाँ पार्किङ बे निर्माण भइरहेको छ, तर यसको सञ्चालन र सुरक्षाको विषयले गम्भीर प्रश्न उठाएको छ। जेष्ठ २५ गते बुद्ध एयरको जहाज अवतरणपछि बिना तयारी नयाँ ह्याङ्गरमा लगिएको घटनाले यो प्रष्ट भएको छ। उक्त ह्याङ्गरमा न मार्किङ छ, न त कुनै सुरक्षा तयारी। पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा सेफ्टी एसेस्मेन्टको अभावमा प्रश्न उठेको थियो, तर काठमाडौंको नयाँ पार्किङ बेले पनि उस्तै नियति भोगेको छ।
यो परियोजनाको प्रमुख डिजाइनर तथा प्रोजेक्ट म्यानेजर दीपेन्द्र श्रेष्ठमाथि गम्भीर आरोप लागेको छ। विमानस्थल स्रोतका अनुसार, उनले आफूभन्दा वरिष्ठ अधिकारीहरूलाई पछाडि पार्दै ठूलो बजेटको विमानस्थल विस्तार परियोजना हात पारेका छन्। महानिर्देशक प्रदीप अधिकारीको आडमा उनले सुरक्षालाई हल्का रूपमा लिएको एक निर्देशकले बताएका छन्। श्रेष्ठमाथि भेरियसन र कन्सल्टेन्ट नियुक्तिमार्फत करोडौंको आर्थिक अनियमितता गरेको र अप्रत्यक्ष रूपमा आफैंले रकम लिएको आरोप छ।
थप चिन्ताजनक कुरा, जहाज अवतरणकै समयमा माटो बोकेका गाडीहरूलाई रनवे नजिक कुद्ने अनुमति दिइएको छ। सेफ्टी एक्सन ग्रुपको सुझावविपरीत श्रेष्ठले यस्ता आदेशहरू जबरजस्ती लागू गराएको व्यवस्थापनसँग सम्बद्ध एक अधिकारीले बिजनेस प्रेसलाई जानकारी दिए। यस्ता कार्यले विमानस्थल असुरक्षित र जोखिमपूर्ण अवस्थामा सञ्चालित छ। कुनै पनि बेला ठूलो दुर्घटना निम्तिन सक्ने खतरा रहेको ती अधिकारीको भनाइ छ।
यसरी सुरक्षा मापदण्डलाई बेवास्ता गर्दै परियोजना सञ्चालन गर्नुले विमानस्थलको विश्वसनीयतामाथि प्रश्न उठेको छ। दीपेन्द्र श्रेष्ठको कार्यशैली र महानिर्देशकको संरक्षणले परियोजनामा पारदर्शिता र जवाफदेहिताको अभाव देखिन्छ। यस्ता गतिविधिले यात्रुको सुरक्षा मात्र नभई समग्र विमानस्थल सञ्चालन प्रणालीमाथि नै जोखिम बढाएको छ। सम्बन्धित निकायले तत्काल सेफ्टी एसेस्मेन्ट र पारदर्शी छानबिन गरी यस्ता अनियमितता रोक्नुपर्ने आवश्यकता छ। अन्यथा, ठूलो दुर्घटना निम्तिने खतरा कायमै रहनेछ।