• Tuesday, March 3, 2026

तेल ट्यांकर कब्जापछि अमेरिका–भेनेजुएला तनाव चुलियो


अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोका तीन भतिजासहित केही व्यक्तिहरूमाथि प्रतिबन्ध घोषणा गरेको छ, जसले दक्षिण अमेरिकी देशविरुद्धको आफ्नो दबाब अभियानलाई अझ कडा बनाएको छ। प्रतिबन्धित व्यक्तिमध्ये दुई भतिजालाई यसअघि अमेरिकामा लागुऔषध तस्करीको आरोपमा दोषी ठहर गरी कैद सजाय सुनाइएको थियो, तर पछि कैदी विनिमयमार्फत रिहा गरिएका थिए। अमेरिका भेनेजुएलाको तेल क्षेत्रलाई निशाना बनाउँदै एक पानामेली व्यापारी र भेनेजुएलाको तेल ढुवानीमा संलग्न रहेको भनिएका छवटा शिपिङ कम्पनीमाथि पनि प्रतिबन्ध लगाइरहेको छ। त्यसैगरी, अमेरिकी ट्रेजरीले मदुरो सरकारलाई आर्थिक स्रोत उपलब्ध गराएको आरोपमा "छलीपूर्ण र असुरक्षित ढुवानी गतिविधि" मा संलग्न छ वटा जलयानलाई पनि पहिचान गरेको छ।

प्रतिबन्ध लगाइएपछि भेनेजुएला सरकारले  प्रतिक्रिया दिएको छैन। यो कदम अमेरिकाले भेनेजुएलाको तट नजिकैबाट एउटा तेल ट्यांकर कब्जा गरेको भोलिपल्ट आएको हो। अमेरिकी एटर्नी जनरल पाम बन्डीका अनुसार उक्त ट्यांकर भेनेजुएला र इरानजस्ता विदेशी आतंकी संगठनलाई समर्थन गर्ने अवैध तेल ढुवानी नेटवर्कमा संलग्न रहँदै आएको आरोपमा वर्षौँदेखि अमेरिकी प्रतिबन्धमा परेको थियो। मदुरोले भने उक्त कब्जालाई “क्यारिबियनमा आपराधिक समुद्री डकैतीको नयाँ युग” भनेर टिप्पणी गरेका छन्। भेनेजुएलन सरकारले यस घटनाविरुद्ध अन्तर्राष्ट्रिय समुद्री संगठन  मा औपचारिक उजुरी दायर गरेको छ।

Please Login to comment in the post!

you may also like