तनहुँ। मुग्लिन–पोखरा सडक खण्डअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओडार क्षेत्रमा लामो समयपछि कालोपत्रे काम थालिएको छ। पहिरोको उच्च जोखिमका कारण रोकिएको उक्त खण्डमा अहिले पुनः कालोपत्रे सुरु भएको हो।
सडकछेउमा निर्माण गरिएको पर्खाल पहिरोले भत्काएका कारण काम अघि बढ्न नसकेको अनुमान गरिँदै आएको थियो। पश्चिम खण्डअन्तर्गत तनहुँको भागमा मौरीओडार मात्र यस्तो स्थान थियो, जहाँ दुईतर्फी कालोपत्रे बाँकी थियो। अब दुई लेनमा कालोपत्र सुरु भइसकेको र त्यसपछि अर्को दुई लेनमा पनि काम अघि बढाइने सडक योजना प्रमुख कृष्णबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति भएको छ। ३८.८८ किलोमिटर लामो खण्डमध्ये ३७.४ किलोमिटरमा एकतर्फी पहिलो तहको कालोपत्रे सकिएको छ। त्यसमध्ये २९.६१ किलोमिटर चार लेन र ७.७९ किलोमिटर दुई लेन कालोपत्रे सम्पन्न भएको छ।
उक्त खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् भने सेती नदीमा एक पुल निर्माणाधीन छ। गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नतिको लक्ष्य राखिएकामा २३.०६ किलोमिटरमा कालोपत्रे पूरा भएको छ। ६६ कल्भर्टमध्ये ६५ र ५१.५ किलोमिटर नाला निर्माण लक्ष्यमध्ये ४५.२ किलोमिटर निर्माण सम्पन्न भएको पनि कुँवरले बताए।
२०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम २०८२ पुस १६ सम्म सम्पन्न गर्ने लक्ष्य छ। यो खण्डको ठेक्का एनहुई केयुएन हाइवे एन्ड ब्रिजले रु ७ अर्ब ४० करोडमा पाएको हो। रासस