• Tuesday, March 3, 2026

थाइल्यान्डमा संसद विघटन


थाइल्यान्डले क्याम्बोडियासँगको सीमा क्षेत्रमा पछिल्लो एक सातादेखि बढिरहेको झडपका बीच संसद विघटन गरेको छ र ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार सार्वजनिक गरिएको राजकीय डिक्रीमा प्रधानमन्त्री अनुतिन चार्नवीराकुलले तीन महिनाअघि अल्पमत सरकार बनेदेखि समाधान गर्न नसकिएका समस्यामध्ये घातक सीमा विवाद पनि एक थियो भनेर उल्लेख गरेका छन्। आगस्ट २०२३ यताका तीन प्रधानमन्त्रीमध्ये अनुतिन तेस्रा हुन्, र उनले पद सम्हाल्दा जनवरीभित्र संसद विघटन गर्ने भनेका थिए। तर अविश्वास प्रस्तावको खतरा बढेपछि उनले चुनाव अगाडि सारे। गत महिनाको भीषण बाढी जसले १७६ जनाको ज्यान लियो, तथा क्याम्बोडियासँगको हालैको झडप जसमा कम्तीमा २० जनाको मृत्यु र लाखौँ विस्थापित भएका छन् — यी सबैका कारण उनको सरकार कडा आलोचनामा परेको थियो।

युवामुखी प्रगतिशील पिपल्स पार्टीले, जुन संसदको सबैभन्दा ठूलो दल हो, समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ। यो पार्टीले सैनिक–लेखन संविधानमा सुधार, र चार महिनाभित्र संसद विघटनको माग गरेको थियो तर अनुतिनको भुम्जथाइ पार्टीले सम्झौता नपु¥याएको आरोप लगाएको छ। यसअघि नै दुई प्रधानमन्त्रीहरूलाई नैतिक आचरण उल्लङ्घन गरेको भन्दै अदालतले पदबाट हटाइसकेको थाइल्यान्ड पुनः राजनीतिक अस्थिरतामा फसेको छ। पिपल्स पार्टीले अब "मतपेटिकामा भेटौंला" भन्दै आगामी चुनावको तयारी सुरु गरिसकेको छ।

Please Login to comment in the post!

you may also like