नेपाली राजनीतिक परिवेशमा पछिल्ला वर्षहरू देखा परेको असंगति र वैचारिक द्वन्द्वले पार्टी तथा नेताहरूको विश्वसनीयताको प्रश्नलाई गहिरो बनाइरहेको छ। हालै जनार्दन शर्मा ‘प्रभाकर’, राम कार्की, सुदन किराँतीलगायतका पूर्वमाओवादी नेताहरूले ‘नेपाली कम्युनिस्ट पार्टी’ एकता प्रक्रियाप्रति कडा आपत्ति जनाउँदै प्रचण्डमाथि माओवाद परित्याग गरेको, जनयुद्धको अवमूल्यन गरेको र सडेगले शक्तिसँग एकता गरेर क्रान्तिलाई धोका दिएको जस्ता आरोप लगाए। तर यी आरोप बाहिर आएर केही दिनमै उनीहरू आफैँ कम्युनिस्ट विचारधाराबाटै अलग भएर ‘प्रगतिशील–लोकतान्त्रिक पार्टी’ (प्रलोपा) मा गएका छन्, जुन गैरकम्युनिस्ट लोकतान्त्रिक पार्टी हो। कम्युनिस्ट विचार छाड्नेहरूले माओवाद छोडेको आरोप लगाउनु स्वयम् असंगत भएको तर्क स्वाभाविक छ, किनकि कम्युनिस्ट विचार परित्याग गरिसकेपछि माओवाद समर्थन वा विरोध गर्नुको औचित्य रहँदैन। विश्वमा धेरै कम्युनिस्ट पार्टीहरू छन्, जसले माओवादलाई होइन, मार्क्सवाद–लेनिनवाद वा केवल मार्क्सवादलाई मार्गदर्शक सिद्धान्त मान्छन्; तर गैरकम्युनिस्ट दलले माओवाद मान्ने कुनै उदाहरण छैन। यसैले कम्युनिस्ट पहिचान नै छाड्नेहरूले माओवादका नाममा अरूलाई दोषारोपण गर्नु दम्भ मात्र देखिन्छ।
प्रचण्डको वैचारिक स्थिरता र राजनीतिक इमान्दारीबारे छुट्टै बहस आवश्यक रहे पनि, उहाँलाई दोष दिएर मात्र सबै समस्या समाधान हुँदैन। राजनितिमा देखिएर आएका धेरै असंगति स्वयम् त्यागेर हिँड्ने नेताबाटै सिर्जित छन्। जनार्दन शर्मा समूहले देखाएको विरोधाभाष पहिलो उदाहरण होइन। यसअघि पनि माओवादी आन्दोलनभित्र प्रचण्डलाई गैरकम्युनिस्ट, अवसरवादी र सिद्धान्तहीन आरोप लगाउनेहरू कतिपय वैचारिक भ्रममा हराए, कतिपय फर्किए, कतिपयले कम्युनिस्ट आन्दोलन त्यागेर नै सके। डा. बाबुराम भट्टराई यसको ज्वलन्त मिसाल हुन्। एक समय माओवादी विचारका प्रमुख ‘आइडोलग’का रूपमा रहेका उनले २०७२ मा पार्टी आकस्मिक रूपमा छाड्दै माओवादी विचार र जनयुद्धको औचित्यमाथि नै प्रश्न उठाए। ‘रातो स्टिकरको घर’ भनेर व्यंग्य गरेका उनले प्रधानमन्त्रीसम्म हुने अवसर त्यही विचार र आन्दोलनले दिएको सत्य बिर्सिए। उनले वैकल्पिक लोकतान्त्रिक शक्ति निर्माण गर्ने घोषणा गरेका थिए, तर जनस्तरमा आर्जन गर्न नसकेपछि दशक लामो यात्रापछि नयाँ शक्ति नै बिसर्जित भयो।यस्तै अनिश्चितता जनार्दन शर्मा, राम कार्की आदिको राजनीतिक मार्गमा दोहोरिन सक्ने संकेत प्रबल छ। यी नेताहरू वर्षौँसम्म आफूलाई ‘खाँटी कम्युनिस्ट’, ‘मार्क्सवादी’, ‘माओवादी’ भन्दै आएका हुन्। पार्टीभित्र हुँदा प्रचण्डप्रति गरेको आरोप—माओवादी आदर्शपालना नगरेको, सिद्धान्त छाडेको—भनेका कुरा उनीहरूको पछिल्लो कदमसँग मेल खाँदैनन्। यदि उनीहरूको आरोप सत्य थियो भने प्रचण्डभन्दा उत्कृष्ट वैचारिक र क्रान्तिकारी पार्टी निर्माण गरेर उदाहरण दिन सकिन्थ्यो। तर आफैँ गैरकम्युनिस्ट धारणामा प्रवेश गर्नु र त्यहीबेला अरूले कम्युनिस्ट सिद्धान्त छाडेको भन्दै होहल्ला गर्नुमा कुनै सङ्गति छैन। यस्तो निर्णय व्यक्तिको वैचारिक परिपक्वता नभई व्यक्तिगत अन्योलको संकेत बन्छ, जसले समाजमा भ्रम र अविश्वास मात्र बढाउँछ। जीवनको अधिकांश समय जनयुद्ध र माओवादी आन्दोलनमा बिताएपछि अन्त्यमा विपरीत धारमा उभिने निर्णयले आम नागरिकमा ‘कसैलाई कसरी विश्वास गर्ने?’ भन्ने प्रश्न थियो।राजनीतिमा विचार परिवर्तन गर्नु अस्वाभाविक होइन, किनकि नयाँ परिस्थिति र बुझाइ अनुसार मानवीय दृष्टिकोण परिवर्तन हुनसक्छ। तर त्यस्तो परिवर्तन तार्किक, क्रमबद्ध र वैचारिक परिपक्वतामाथि आधारित हुनुपर्छ। रातारात साम्यवादीबाट गैरसाम्यवादी, राजावादीबाट गणतन्त्रवादी, लोकतन्त्रवादीबाट अधिनायकवादी बन्नु असंगति हो। यस्तो प्रवृत्तिले राजनीतिको नैतिक धरातल कमजोर बनाउँछ। मतदाताले कसका आधारमा विश्वसनीयता मूल्यांकन गर्ने? केवल अनुहार हेरेर कि वैचारिक निष्ठा हेरेर?
रोचक त यो पनि छ कि अहिले प्रचण्डविरुद्ध लागेर अलग्गिएका मध्ये धेरै फेरि प्रचण्डकै पार्टीमा फर्किने सम्भावना रहन्छ, जस्तै इतिहासमा बारम्बार देखिएको छ। भट्टराईसँग गएका देवेन्द्र पौडेल, कुमार पौडेल, मुक्ति प्रधान, गंगानारायण श्रेष्ठहरू पछि माओवादीमै फर्किए र आज प्रचण्डकै वरिपरि छन्। कुनै समय प्रचण्डलाई दानवीकरण गर्दै भट्टराईलाई देवत्वकरण गर्नेहरू अहिले उल्टै ध्रुवमा उभिएका छन्। नयाँ बाटो खोज्ने–खोज्ने क्रममा केही दिनमै टिक्न नसक्ने अञ्जना बिसुंखेको उदाहरण पनि यथार्थ हो।कम्युनिस्ट आन्दोलनभित्र आफूलाई ‘खाँटी क्रान्तिकारी’ ठान्नेहरूको अवस्था पनि फरक छैन। नेत्रविक्रम चन्द ‘विप्लव’ ले जनयुद्ध रोकिन नहुने, प्रचण्ड–भट्टराई पतन भएका भन्ने तर्क गर्दै दशकभर सशस्त्र गतिविधि चलाए। लोकतान्त्रिक गणतन्त्रलाई दलाल व्यवस्था भन्दै विरोध गर्ने उनीहरू अन्ततः संसदिय प्रणालीमै फर्किए। अहिले ‘गुलाफ’ चुनाव चिह्न लिएर दर्ता भएका छन्। प्रश्न उठ्छ—यदि विचारगत भिन्नता अन्त्य भयो भने अलग पार्टी किन? ‘संसदीय भास’ भनेर निन्दा गर्नेहरू आज उही मार्ग अपनाएको विडम्बना होइन?त्यसैगरी आहुतिको राजनीतिक यात्रा पनि असंगत रहेको छ। माओवादी–एमाले गठबन्धनको घोषणापत्र लेखेर केही महिनामै चुनाव नलड्ने ‘वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी’ का नेता बन्नु, जनयुद्ध पनि नगर्ने, चुनाव पनि नलड्ने—अन्त्यमा पार्टीले गर्छ के? भन्ने प्रश्न अनुत्तरित छ। माओवादी आन्दोलन चर्किँदै गर्दा माओवादीको विरोध गर्ने उनीहरू माओवादी सत्तामा पुगेपछि मानौं जनयुद्धका सूत्रधार आफू नै थिएजस्तै व्यवहार देखिनु पनि विरोधाभासको उदाहरण हो।
पूर्वमाओवादी भएर एमालेमा पुगेका रामबहादुर थापा ‘बादल’, लेखराज भट्ट, टोपबहादुर रायमाझीजस्ता नेताले जनयुद्धको कठोर आलोचक ओली समूहसँग बसेर गरेको सम्झौता राजनीतिक स्वार्थ र पदलोभकै परिणाम जस्तो देखिन्छ। ‘नयाँ जनवादी गणतन्त्र’ स्थापना नभएसम्म जनयुद्ध जारी राख्नुपर्छ भन्ने विचार बोकेका मोहन वैद्य ‘किरण’ र सीपी गजुरेल ‘गौरव’ समूहले यसबीच नयाँ जनयुद्ध सुरु गर्न नसक्नु, गुट–फुट र आरोप–प्रत्यारोपमै अल्झिनु वैचारिक दृढताको कमजोरी नै हो।यी सम्पूर्ण उदाहरणहरूसँगै जनार्दन शर्मा समूहको हालको निर्णयले वैचारिक निरन्तरता र राजनीतिक निष्ठाबारे गम्भीर प्रश्न उठाउँछ। प्रचण्डको समर्थन छोड्ने वित्तिकै उनीहरू स्वतन्त्र, सुसंस्कृत र नयाँ शक्ति बने भन्ने जनता मान्दैनन्। आज कम्युनिस्ट, भोली गैरकम्युनिस्ट, पर्सि मधेशवादी वा पहिचानवादी बन्ने प्रवृत्तिले वैचारिक परिवर्तनभन्दा बढी अवसरवाद झल्काउँछ। राजनीति अब आरोप–प्रत्यारोपको खेल होइन, स्पष्ट दृष्टि, स्थिरता र आत्मविश्वासको अभ्यास हुनुपर्छ। मुलुकलाई अवसरवादी नेताभन्दा सिद्धान्तमा टिक्ने, कहिल्यै नडगमगाउने पात्रहरूको आवश्यकता छ।