नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुलाई अब निजी शैक्षिक संस्था समेतमा सक्रिय बनाइने घोषणा गरेका छन्।
सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले किशोर–किशोरीलाई युवा अवस्थामा प्रवेश गर्ने संवेदनशील मोडमा परदेशी प्रभावले गलत दिशातिर धकेल्न खोजिरहेको आरोप लगाए।
विदेशी स्वार्थका लागि सञ्चालन भइरहेको भनेर आफूले व्याख्या गरेका निजी क्याम्पस र विद्यालयहरूले विद्यार्थीको सोच–सम्बोधनमा नकारात्मक असर पारिरहेको दाबी गर्दै उनले त्यसलाई रोक्न संगठनलाई व्यापक रूपमा परिचालन गरिने बताए।
ओलीले भने, “अब अनेरास्ववियु निजी क्याम्पसदेखि निजी स्कुलसम्म जानेछ। फिस तिरेर हाम्रै छोराछोरी पढाउने, तर त्यही संस्थाले असल सोच बिगार्ने ? यो सह्य हुँदैन। अब यस्ता स्थानमा पनि विद्यार्थी संगठनको उपस्थिति हुनेछ।”