• Tuesday, March 3, 2026

फुच्ची कम्रेडको क्रान्तिकारी सपना



पशुपति क्याम्पसको हातामा छोटो स्कर्ट, छडी छोडेको कर्ली कपालकी सम्झना भेटिन्छिन्। उनी विद्यार्थीहरूका समस्यासँग जोडिएकी हुन्छिन्—घरबाट पैसा आउन ढिला हुनेदेखि घरबेटीले दलित भनेर थाहा पाएपछि गुनासो गर्नेसम्म। “सम्झना जी कडा नेता हो क्या हो?” भन्ने मेरो प्रश्नमा उनको उत्तर सरल थियो: “साथीभाइसँग आफ्ना र उनीहरूका गुनासो, दुःख साट्दा एकदमै हलुका भइन्छ।” सोलुखुम्बुको दुर्गम सोताङको पावे घर बताउने सम्झना विद्यार्थीबीच निकै लोकप्रिय छिन्। यति सानै उमेरमा राजनीतिमा किन? भन्ने प्रश्नमा उनी घोत्लिन्छिन् र थप्छिन्, “समाजलाई केही गर्नुपर्छ भन्ने लागेर नै हो।”

सम्झनाको गाउँमा एउटा मात्र दलित परिवार छ। समाजले त्यो परिवारमाथि गरेको व्यवहारले उनको मन खिन्न बनाउँथ्यो। गाउँमा कोही बिरामी पर्‍यो भने बोक्सी लागेको आरोप त्यही परिवारमाथि जान्थ्यो। होचो-निचो काम आइलाग्यो भने त्यही परिवार नै हकदार हुन्थ्यो। उनीहरूको आर्थिक अवस्था कमजोर हुँदाको दुःख त उनीहरूलाई नै होला, तर सामाजिक संरचनाको कारण खेपेको बेहिसाब दुःख उनको मनमा गढेको छ। शायद यस्तै असमानताबीच माओवादीले युद्ध सुरु गरे। समाजका निमुखाहरूको एजेन्डा बोकेर २०६२-६३ सम्म आइपुग्दा राष्ट्रले केही शासकीय संरचना र सिद्धान्तहरू आत्मसात् गरेको छ। जनआन्दोलनपछि ममिले भनेको कुरा उनलाई याद छ: “माओवादी जनयुद्धले त्यो दलित परिवारलाई थप प्रोत्साहित गरेर राजनीतिक परिवार बन्न पुग्यो। अहिले समाजमा दह्रो उपस्थिति जनाउन सकेको छ।” त्यसैले माओवादी जनयुद्ध परिवर्तनको संवाहक भएको उनलाई लाग्छ। बाबा, आमा, काका, काकी कोही राजनीतिमा नभए पनि ममिको शब्दले उनलाई माओवाद उत्तम राजनीतिक विचार र परिवर्तनको संवाहक हुन सक्छ भन्ने लाग्यो।

उसो त उनकी आमाको १३ वर्षमा बिहे भएको उनलाई थाहा छ। समाजमा छोरीहरू पढ्न नपाउने अवस्थाले विवाहप्रतिको बुझाइ नै गलत बनाइदिएको उनलाई लाग्छ। चेतना अभावमा ‘महिला पढेपछि बोक्सी हुन्छ’ भन्ने अपभ्रंश संस्कृति नै बनेको थियो! माओवादी आन्दोलनपछि यो भास्य परिवर्तन भएको उनलाई लाग्छ। त्यसैले ममिले ‘पढ्नुपर्छ’ भन्ने लागेर नै उनलाई काठमाडौँसम्म पुर्‍याउनुभयो। क्याम्पस छिर्दा ममिले ‘परिवार मात्र राम्रो हुनुपर्छ’ भनेर देखेको सपना थियो, तर उनलाई अझ अगाडि बढेर समाज परिवर्तन गर्नुपर्छ भन्ने लाग्यो। अनि उनले राजनीतिक आबद्धता थप बढाइन्।

युद्धमा लागेको पार्टीमा युवाहरू लाग्दा लडाकु भनेर जिस्क्याउँदैनन्? मेरो सानो स्वरको प्रश्नमा सम्झना थप्छिन्, “देश युद्धमा होमिँदा यो बेकार युद्ध भइरहेको लाग्थ्यो। तर राजनीतिक चेत बढ्दै जाँदा योभन्दा भीषण युद्धको खाँचो छ भन्ने लाग्यो।” ‘त्यो युद्ध अब कसले गर्ने सामर्थ्य राख्ला?’ उनलाई लाग्छ, युवाहरूले। उस्तै उमेर समूहबीच जातीय भेदभाव, आर्थिक असमानता निर्मूल भएको छैन। भ्रष्टाचार गरेर अकुत कमाउनेहरूको रवाफले नयाँ वर्ग जन्मिएको छ। दुःख गर्नेभन्दा कानुनको छिद्र देखाएर दुःख दिनेहरूको राजगजले विद्रोहको नयाँ ढाँचा खोजिरहेको उनलाई लाग्छ। राजु स्याङ्तानका कविताका हरफहरूले एक किसिमको युद्ध गरेका छन्। अखबारमा गुन्जिने खगेन्द्र संग्रौला, हरि रोकाहरूको परिकल्पनाले समाज जागरुक भएको उनलाई लाग्छ। युद्ध भनेको बन्दुक मात्र हो भन्ने भास्य राजुहरूका कविताले परिवर्तन गरेनन् र? एक स्थिर, शान्त र समृद्ध राष्ट्रका लागि शान्तिपूर्ण, लोकतान्त्रिक र कानुनी प्रक्रिया तथा सबैको सामूहिक प्रयास जरुरी छ।

विकेन्द्रीकरणको अभ्यासमा शासन व्यवस्था चुक्दा प्राप्त उपलब्धिहरू गुम्ने डर बढिरहेको उनलाई लाग्छ। सञ्जालहरू होस् वा चिया पसलका असन्तुष्टिहरू, तिनले दिने सङ्केत विद्रोह नै हो। त्यसका लागि युवाहरू तयार रहनुपर्छ भन्ने उनलाई लाग्छ।

सोलुखुम्बुको विकट बस्तीदेखि संघीय राजधानी काठमाडौँ आउँदा उनले सोचेको वा देखेको संसार अलग रहेछ। त्यसैले उनी राजनीतिको कलिलो मस्तिष्क नभएर क्रान्तिका ठेली उघार्छिन्। शिवपुरीको जङ्गलमा हाइकिङ गर्दा होस् वा सोलुसम्मको सुमो यात्रामा, माओले लेखेका सफलताका सूत्रहरू बोकेर हिँड्छिन्। माइक्रो कुर्दाको समय पनि अध्ययनमै भेटिने सम्झना भन्छिन्, “सबै गल्ती आफैं गर्न थालियो भने एक बारको जिन्दगी कम हुन्छ। त्यसैले अरूको सफलता वा विफलताबाट सिक्न अध्ययन जरुरी हुन्छ।” “पढेर बाबुराम” भन्ने ट्रोल चलिरहेको छ भन्ने प्रश्नमा उनी थप्छिन्, “तेही समयानुकूल बन्न र युवालाई बुझाउन नै राजनीतिमा हाम फाल्नुपरेको हो नि!”

पछिल्ला केही वर्षमा नेपालको राजनीतिक परिप्रेक्ष्यमा धेरै उतारचढाव आएको छ। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ संगठन अखिल क्रान्तिकारीले विद्यार्थी नेताको उमेर ३२ वर्ष तोकेपछि युवाहरूमा नयाँ बहस सिर्जना भएको छ। यसले राजनीतिक चेतना र सामाजिक व्यवहारमा महत्त्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा छ। नयाँ पुस्ताले सामाजिक-राजनीतिक परिवर्तनका लागि आवाज उठाउने प्रक्रिया तीव्र बनाएको छ। गणतन्त्रको पहिलो दशकपछि नेपालले लोकतान्त्रिक मूल्य र नैतिकताको महत्त्व बुझ्दै नयाँ दिशामा अघि बढिरहेको सानो उदाहरण यो हुन सक्छ। सम्झना थप्छिन्, “नेपाली राजनीतिमा समाजको चेतनास्तरमा प्रगति भइरहेको छ। खासगरी युवा वर्गमा देशको समृद्धिका लागि क्रियाशीलता बढेको छ। यसले नयाँ दलहरू र विचारधाराको विकासमा मद्दत पुर्‍याएको छ। यद्यपि, राजनीतिक स्थायित्वको चुनौती टरेको छैन।”

जनताले अधिकार र कर्तव्य बुझ्न थालेका छन्, जसले चुनावमा भाग लिने प्रतिस्पर्धा बढाएको छ। स्वतन्त्र उम्मेदवारहरू सुशासनको नारा लिएर आउने क्रम बढेको छ। युवा पुस्ताको वृद्धि, सशक्त शिक्षा र सूचना प्रविधिको विकासले जनचेतना अघि बढाएको उनलाई लाग्छ।

युवाहरूको बेरोजगारी, सामाजिक असमानता, भ्रष्टाचार र अस्थिर राजनीतिक प्रणालीले भविष्यमा बाधा पुर्‍याइरहेको छ। यी समस्याको समाधान युवा नेतृत्वमा गर्नुपर्ने उनको बुझाइ छ। युवा पुस्ताको राजनीतिक चेतनाले प्रजातान्त्रिक प्रक्रियामा नयाँ दृष्टिकोण ल्याउन सक्छ। उनीहरूको सक्रिय सहभागिता र विचार आदानप्रदानले राजनीति पारदर्शी र जवाफदेही बनाउने सम्भावना छ। साथै, योजनाबद्ध र समावेशी दृष्टिकोणले देशको समृद्धि र विकासमा ठोस योगदान पुर्‍याउनेमा सम्झना ढुक्क छिन्।

सम्झनाको यात्रा एउटा कलिलो सपनाबाट सुरु भएर समाज परिवर्तनको ठूलो आन्दोलनतर्फ अघि बढिरहेको छ। उनी जस्ता युवाहरूले नै नेपालको भविष्य उज्यालो बनाउने छन्।


Please Login to comment in the post!

you may also like