• Tuesday, March 3, 2026

फेड अध्यक्ष जेरोम पावेलमाथिको आपराधिक छानबिनले केन्द्रीय बैंकको स्वतन्त्रता कमजोर बनाउने आरोप


वासिङ्टन । अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का तीन पूर्व अध्यक्षले फेड अध्यक्ष जेरोम पावेलमाथि सुरु गरिएको आपराधिक छानबिनको कडा आलोचना गरेका छन्। उनीहरूले यस कदमलाई फेडको स्वतन्त्रता कमजोर पार्ने प्रयासको रूपमा व्याख्या गरेका छन्।

पूर्व अध्यक्षहरू जेनेट येलेन, बेन बर्नान्की र एलन ग्रीनस्प्यानसहित १३ जना प्रतिष्ठित पूर्व सरकारी अधिकारीहरूले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै पावेलको पक्षमा ऐक्यबद्धता जनाएका हुन्। उनीहरूले लेखेका छन्, “यस्तो तरिकाले मौद्रिक नीति बनाउने अभ्यास कमजोर संस्थागत संरचना भएका उदीयमान मुलुकमा देखिन्छ, जसले मुद्रास्फीति र समग्र अर्थतन्त्रमा गम्भीर नकारात्मक असर पार्छ।” उनीहरूले थपे, “कानुनको शासन नै अमेरिकाको सबैभन्दा ठूलो शक्ति हो, र यही हाम्रो आर्थिक सफलताको आधार हो।अमेरिकी न्याय मन्त्रालय (डिपार्टमेन्ट अफ जस्टिस) ले पावेलमाथि छानबिन थालेको खुलासा स्वयं पावेलले आइतबार आकस्मिक भिडियो सन्देशमार्फत गरेका थिए। उनले गत वर्ष सिनेट समितिमा फेडका भवन नवीकरणसम्बन्धी दिएको बयानलाई आधार बनाएर आपराधिक अभियोग लगाउने धम्की आएको बताए। पावेलले यसलाई “अभूतपूर्व” भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबसँग जोडिएको दाबी गरेका छन्।“यो धम्की मेरो गत जुन महिनाको बयान वा भवन नवीकरणसँग सम्बन्धित होइन,” पावेलले भने, “ती केवल बहाना हुन्।” उनका अनुसार, फेडले अपेक्षाअनुसार ब्याजदर छिटो घटाउन नसकेको कारण ट्रम्प असन्तुष्ट छन्।

ट्रम्पले लामो समयदेखि पावेलको कडा आलोचना गर्दै आएका छन्। उनले ब्याजदर नीतिलाई लिएर मात्र होइन, व्यक्तिगत रूपमा समेत पावेललाई “ठूलो असफल व्यक्ति” र “नम्बस्कल” जस्ता शब्द प्रयोग गरेर आक्रमण गरेका छन्। सोमबार ट्रम्पले आफूलाई छानबिनबारे “केही थाहा नभएको” दाबी गरे। ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले पनि फेडको स्वतन्त्रताबारेको प्रश्नमा न्याय मन्त्रालयतर्फ औँला ठड्याइन्। “पावेल आफ्नो काममा असफल भएका छन्,” लेभिटले भनिन्, “उनी अपराधी हुन् कि होइनन् भन्ने निर्णय न्याय मन्त्रालयले गर्ने हो।”फेडले सन् २०२५ को दोस्रो भागमा तीनपटक ब्याजदर घटाउँदै प्रमुख कर्जा दरलाई ३.५० देखि ३.७५ प्रतिशतको दायरामा ल्याएको थियो, जुन तीन वर्षयताकै न्यून स्तर हो। तर ट्रम्पले अझ तीव्र रूपमा ब्याजदर घटाउनुपर्ने माग गर्दै आएका छन्, ताकि सरकारी ऋणको ब्याज भार घटोस् र सर्वसाधारणलाई कर्जा लिन सजिलो होस्।पूर्व फेड अध्यक्ष जेनेट येलेनले अलग टिप्पणीमा यो छानबिनलाई “अत्यन्तै डर लाग्दो” भनेकी छन्। उनले सीएनबीसीसँग भनिन्, “पावेल झुट बोल्ने व्यक्ति होइनन् भन्नेमा म पूर्ण विश्वस्त छु। उनीहरू उनलाई हटाउन चाहन्छन्, त्यसैले यो छानबिन गरिएको हो।” उनले यसले लगानीकर्तालाई गम्भीर चिन्ता पैदा गर्न सक्ने चेतावनी दिँदै भनिन्, “यो बनाना रिपब्लिकतर्फ जाने बाटो हो।”पावेलको कार्यकाल आगामी मे महिनामा सकिँदैछ र ट्रम्पले चाँडै नयाँ फेड अध्यक्ष नियुक्त गर्ने अपेक्षा गरिएको छ। तर न्याय मन्त्रालयको छानबिन र त्यसपछिको राजनीतिक प्रतिक्रिया उक्त प्रक्रिया प्रभावित हुन सक्ने देखिएको छ। रिपब्लिकन सिनेटर थोम टिलिसले पावेलको उत्तराधिकारी र अन्य फेड बोर्डका उम्मेदवारको अनुमोदन, छानबिन पूर्ण रूपमा समाधान नभएसम्म रोकिने चेतावनी दिएका छन्।सोमबार अमेरिकी सेयर बजारमा भने तत्काल ठूलो असर देखिएन। एसएण्डपी ५०० सूचकांक झन्डै स्थिर रह्यो। यद्यपि वित्तीय क्षेत्रका सेयरमा गिरावट आएको थियो। विश्लेषकहरूका अनुसार यदि फेडको नीतिमा राजनीतिक हस्तक्षेप बढ्यो भने बजारको प्रतिक्रिया अझ तीव्र हुन सक्छ।

यसैबीच, केही रिपब्लिकन सांसदहरूले पनि छानबिनले फेडको काममा अनावश्यक अवरोध सिर्जना गर्ने चिन्ता व्यक्त गरेका छन्। प्रतिनिधिसभा वित्तीय सेवा समितिका अध्यक्ष फ्रेन्च हिलले यसलाई “अनावश्यक ध्यान विचलन” भनेका छन्। सिनेटर केभिन क्रेमरले पावेलको आलोचना गरे पनि “उनी अपराधी हुन् भन्ने आफूलाई विश्वास नभएको” स्पष्ट पारेका छन्।

Please Login to comment in the post!

you may also like