चौतारा । चीनको न्यालम–खासा क्षेत्रको सीमावर्ती वनमा लागेको भीषण डढेलोका कारण नेपाल–चीन व्यापारिक नाका तातोपानी सोमबारदेखि पूर्ण रूपमा बन्द गरिएको छ। डढेलोले सुरक्षा जोखिम बढाएको भन्दै चिनियाँ प्रशासनले नाकाबाट हुने सम्पूर्ण आवतजावत र व्यापारिक गतिविधिमा रोक लगाएको हो।आइतबार राति न्यालम र खासाको बीचमा पर्ने ‘छोबिन’ क्षेत्रमा सुरु भएको डढेलो हालसम्म नियन्त्रणमा आउन सकेको छैन। आगो तीव्र रूपमा फैलिँदै गएपछि सीमा क्षेत्र उच्च जोखिममा परेकाले स्थानीय बासिन्दा, पर्यटक तथा मालबाहक सवारीसाधनको आवागमन रोकिएको इलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईले जानकारी दिए।
गत वर्ष आएको बाढीले रसुवागढी नाका लामो समय अवरुद्ध भएपछि चीनसँगको अधिकांश आयात–निर्यात तातोपानी नाकामार्फत हुँदै आएको थियो। यस्तो अवस्थामा नाका अचानक बन्द हुँदा सामान बोकेका सयौँ कन्टेनरहरू सीमा क्षेत्रमै रोकिएका छन्। यसले व्यवसायी र मजदुर दुवैलाई ठूलो समस्यामा पारेको नेपाल ट्रक कन्टेनर मजदुर संघका अध्यक्ष अर्जुन सापकोटाले बताए।डढेलो नियन्त्रणमा नआएसम्म नाका खुल्ने सम्भावना नरहेको जनाइएको छ। यसबाट दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीलगायत आयातमा असर पर्नुका साथै सीमा क्षेत्रमा आश्रित व्यवसाय र मजदुरीमा निर्भर परिवारहरू थप संकटमा पर्ने देखिएको छ।