• Wednesday, January 21, 2026

पोखरा विमानस्थल भ्रष्टाचार : महानिर्देशक अधिकारी ५ लाख धरौटीमा रिहा, सात प्रतिवादीमाथि १३ करोडभन्दा बढी बिगो


काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा दायर मुद्दामा विशेष अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित सात जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले महानिर्देशक अधिकारीलाई ५ लाख रुपैयाँ धरौटी तोकेको छ। त्यस्तै, तत्कालीन निर्देशक मुरारी भण्डारीलाई १ लाख रुपैयाँ नगद धरौटीमा रिहा गर्न आदेश दिइएको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मंसिर २१ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा संगठित भ्रष्टाचार भएको भन्दै ५५ व्यक्ति र १ कम्पनीसहित ५६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। तीमध्ये अधिकारी पनि मुख्य प्रतिवादीका रूपमा सूचीकृत छन्। यसअघि भक्तपुर नलिन्चोकस्थित हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो, जसका आधारमा उनी अहिले डिल्लीबजार कारागारमा छन्।

अख्तियारले मंसिर १७ गते नलिन्चोक हेलिपोर्ट निर्माणसम्बन्धी भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा महानिर्देशक अधिकारीसहित ६ जना र १ कम्पनी प्रतिवादी रहेका छन्। विशेष अदालतले सातै प्रतिवादीविरुद्ध कुल १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो कायम गरेको छ।

Please Login to comment in the post!

you may also like