• Tuesday, March 3, 2026

आवेगले देश चल्दैन, अनुभवी नेतृत्व चाहिन्छ: प्रदेश सांसद रेशम जुग्जाली 'सुबिन'


गण्डकी प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी केन्द्र) का नेता रेशम जुग्जाली 'सुबिन' ले देश विकासका लागि भावना र आवेग भन्दा पनि अनुभव र परिपक्व राजनीतिको आवश्यकता रहेको बताउनुभएको छ। म्याग्दीको विकास र वर्तमान राजनीतिक परिस्थितिबारे आफ्नो धारणा राख्दै उहाँले राजनीतिमा लामो समयको त्याग र संघर्षको विशेष महत्त्व हुने कुरामा जोड दिनुभएको हो। पुराना दल र नेताहरूले कठिन संघर्ष गरेर नै आजको राजनीतिक आधारभूमि र पूर्वाधार तयार गरेको चर्चा गर्दै उहाँले नयाँ शक्तिहरूतर्फ संकेत गर्दै भन्नुभयो— "पुराना नेताहरूले जङ्गल र पहरा फोडेर समृद्धिको बाटो पिच गरे, मोटर किने र चलाउने वातावरण समेत बनाइदिए। अब यो उपलब्धि र प्रणालीलाई दुर्घटना नहुने गरी अगाडि बढाउनु नै सबैको हितमा छ।"

सांसद जुग्जालीले क्षणिक लोकप्रियता र 'हाहु' को भरमा देशको राजनीति र नेतृत्व चल्न नसक्ने दाबी गर्नुभयो। नेतृत्वको तुलना घरको संरचनासँग गर्दै उहाँले भन्नुभयो— "नेतृत्व भनेको झ्यालको पर्दा होइन, जसलाई मन लाग्दा फेरिहाल्न सकियोस्। नेतृत्व त घरको बलियो पिलर हो, जो निकै मेहनत, परिश्रम र समय लगाएर निर्माण गरिएको हुन्छ।" उहाँले राजनीति गर्नु र जनताको प्रतिनिधि बन्नु फरक कुरा भएको प्रस्ट पार्दै अहिलेको राष्ट्रिय संकट तार्न अनुभवसहितको बलियो शक्ति आवश्यक रहेको उल्लेख गर्नुभयो।म्याग्दीको अधुरा विकास आयोजनाहरू सम्पन्न गर्न र जिल्लाको चौतर्फी समृद्धिका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवार अर्जुन थापालाई जिताउन उहाँले अपिल गर्नुभएको छ। थापालाई 'तारा' चिह्नमा मतदान गर्न आग्रह गर्दै जुग्जालीले उहाँलाई म्याग्दीको विकासको गोरेटो कोर्ने भरपर्दो सारथीको रूपमा चित्रण गर्नुभयो। म्याग्दीमा सुरु गरिएका भौतिक पूर्वाधारका कामहरूलाई पूर्णता दिन, जलविद्युत, पर्यटन, कृषि र जडिबुटीको सही सदुपयोग गरी रोजगारी सिर्जना गर्न र सधैं जनताको सुख-दुःखमा साथै रहने नेतृत्वको आवश्यकता रहेको उहाँको तर्क छ।

आफूहरूले प्रदेश सरकारमा रहँदा जनतालाई निराश नबनाएको दाबी गर्दै जुग्जालीले यसपटक संघमा पनि विश्वास गर्न आग्रह गर्नुभयो। जनताले बोलाउँदा सुन्ने, भेट्न खोज्दा भेटिने र सधैं नजिक रहेर समाजसेवामा समर्पित युवा अर्जुन थापाको नेतृत्वले म्याग्दीलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले आगामी निर्वाचनमा देखिने र सुनिने गरी काम गरेर देखाउने प्रतिबद्धता समेत जनाउनुभएको छ।

Please Login to comment in the post!

you may also like