• Wednesday, March 4, 2026

भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू


काठमाडौँ — सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहितालाई परिमार्जन गरी बिहीबारदेखि लागू गरेको छ। पुरानो संहितामा रहेका अव्यावहारिक प्रावधान, अन्तर्राष्ट्रिय मापदण्डसँग बाझिने व्यवस्था, डिजाइन गणनामा जटिलता र अनावश्यक खर्च बढाउने प्रावधानलाई हटाएर नयाँ कोड तयार पारिएको छ।

परिमार्जित संहितालाई राजपत्रमा प्रकाशित गर्दै कार्यान्वयनमा ल्याइएको हो जसले भवन मात्र नभई जलविद्युत् आयोजनाका बाँध, विद्युतगृह र सुरुङजस्ता भूमिगत संरचना निर्माणका लागि पनि मार्गदर्शन दिनेछ। शहरी विकास मन्त्री कुलमान घिसिङले यो कोडलाई देशको सुरक्षित भविष्य निर्माणको कोशेढुङ्गा बताउँदै आगामी भूकम्पबाट हुने क्षति न्यून गर्ने विश्वास व्यक्त गरेका छन्। उनले स्थानीय तह, इन्जिनियर र आमनागरिकलाई नयाँ संहितालाई कडाइका साथ लागू गर्न आह्वान गरेका छन्। नयाँ कोडमा ७५३ वटै स्थानीय तहलाई समेट्ने गरी सिस्मिक जोनिङ म्याप तयार गरिएको छ जसले स्थानअनुसार डिजाइनमा स्पष्ट दिशानिर्देश दिन्छ।

काठमाडौँ उपत्यकाको माटो प्रकारका लागि विशेष नक्सा समावेश गर्दै माटो वर्गीकरणमा सुधार गरिएको छ। हिमपात, तरल पदार्थ र माटोको दबाब समावेश गरी नयाँ लोड संयोजन सूत्र र समीकरण अद्यावधिक गरिएको छ।

संरचनाको लचिलोपन बढाउन नयाँ मापदण्ड राखी भूकम्पमा ऊर्जा अवशोषण क्षमता वृद्धि गरिएको छ भने अग्ला भवनका लागि सफ्ट स्टोरी र टोर्सनल इरेगुलरिटीमा कडा नियन्त्रण गरी निर्माण खर्च कटौती हुने अपेक्षा गरिएको छ।

Please Login to comment in the post!

you may also like