अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्ड अधिग्रहणका लागि “विभिन्न विकल्पहरू” माथि छलफल भइरहेको बताएका छन्, जसमा सैन्य हस्तक्षेपको सम्भावनासमेत रहेको ह्वाइट हाउसले जनाएको छ।ह्वाइट हाउसका अनुसार डेनमार्कअन्तर्गतको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्याण्डलाई अमेरिका अधिग्रहण गर्नु “राष्ट्रिय सुरक्षा प्राथमिकता” हो। नाटो सदस्य राष्ट्र डेनमार्कको हिस्सा रहेको ग्रीनल्याण्डमाथि अमेरिकाको दाबी बढ्दै गएपछि युरोपेली नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै डेनमार्कको समर्थन जनाएका छन्।युरोपेली नेताहरूले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, “ग्रीनल्याण्ड त्यहाँका जनताको हो। डेनमार्क र ग्रीनल्याण्डले मात्रै आपसी सम्बन्धबारे निर्णय गर्न सक्छन्।” वक्तव्यमा बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्यान्ड, स्पेन र डेनमार्कका नेताहरूले हस्ताक्षर गरेका छन्।
डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले यदि अमेरिकाले ग्रीनल्याण्डमाथि आक्रमण गरे नाटोको अस्तित्व नै संकटमा पर्ने चेतावनी दिएकी छन्। नाटो नियमअनुसार सदस्य राष्ट्रमाथि आक्रमण भए सबैले सहयोग गर्नुपर्ने व्यवस्था छ।ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले युरोपेली समर्थनको स्वागत गर्दै आपसी सम्मानमा आधारित संवाद आवश्यक रहेको बताएका छन्। “ग्रीनल्याण्डको हैसियत अन्तर्राष्ट्रिय कानुन र भौगोलिक अखण्डताको सिद्धान्तमा आधारित छ,” उनले भने।
यस विषयले हालै अमेरिकाले भेनेजुएलामा गरेको सैन्य कारबाहीपछि थप चासो पाएको हो। सो कारबाहीपछि ट्रम्प प्रशासनसँग निकट व्यक्तिहरूले ग्रीनल्याण्डलाई अमेरिकी झन्डाको रंगमा देखाइएको नक्सा सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।ट्रम्पका वरिष्ठ सल्लाहकार स्टेफन मिलरले ग्रीनल्याण्ड अमेरिका अन्तर्गत आउनुपर्छ भन्ने औपचारिक अमेरिकी धारणा रहेको बताएका छन्। यद्यपि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले डेनमार्कमाथि आक्रमण गर्ने योजना नरहेको तर ग्रीनल्याण्ड खरिद गर्ने विकल्पबारे छलफल भइरहेको बताएका छन्।
ग्रीनल्याण्डमा करिब ५७ हजार जनसंख्या रहेको छ। अधिकांश नागरिक डेनमार्कबाट पूर्ण स्वतन्त्रता चाहन्छन् तर अमेरिकामा गाभिने प्रस्तावको कडा विरोध गरिरहेका छन्।इलुलिसात क्षेत्रमा बसोबास गर्ने २७ वर्षीय इनुइट नागरिक मोर्गन आङाजुले बीबीसीसँग भने, “हामीलाई कुनै वस्तुजस्तै दाबी गरिँदा डर लागिरहेको छ। ग्रीनल्याण्ड पहिले नै ग्रीनल्याण्डवासीको भूमि हो।”आर्कटिक क्षेत्रमा बढ्दो रुसी र चिनियाँ चासो, दुर्लभ खनिज स्रोत र नयाँ व्यापारिक मार्गको सम्भावनाका कारण ग्रीनल्याण्ड विश्व राजनीतिमा रणनीतिक केन्द्र बन्दै गएको छ।