काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक मंगलबार बस्दैछ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने उक्त बैठकमा आगामी निर्वाचनको तयारी तथा संगठन विस्तारसँग सम्बन्धित महत्वपूर्ण एजेन्डामाथि छलफल हुने जनाइएको छ।
पार्टी प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार बैठकमा प्रत्यक्षतर्फ उम्मेदवारी दिने अन्तिम मिति निर्धारण, उम्मेदवार सिफारिस उपसमितिको विस्तार तथा पार्टी समायोजन उपसमितिको विस्तारबारे छलफल हुनेछ। साथै केन्द्रीय समिति विस्तार, निर्वाचन परिचालन समिति गठन र समानुपातिक उम्मेदवार परिचालनसम्बन्धी कार्यविधिबारे पनि बैठकमा निर्णय लिने तयारी रहेको छ।
त्यसैगरी बैठकको कार्यसूचीमा निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि, प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम, जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम तथा स्थानीय तहमा उम्मेदवार क्लब गठनका विषयहरू समेत समावेश गरिएको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको संगठनात्मक संरचना मजबुत बनाउने र जनस्तरमा प्रभाव विस्तार गर्ने रणनीति तय गर्न बैठक महत्वपूर्ण हुने रास्वपाले जनाएको छ।