काठमाडौ। जापानकी नयाँ प्रधानमन्त्री साने ताकाइचीको ताइवानसम्बन्धी अभिव्यक्तिले चीनलाई आक्रोशित बनाएको छ। गत हप्ता जापान र चीनबीच शब्दयुद्धको तीव्रता बढ्दै गएको छ, जब ताकाइचीले संसदमा ताइवानमाथि चीनले आक्रमण गरे जापानले आफ्नै आत्मरक्षा सेना प्रयोग गर्न सक्ने संकेत दिइन्।यो विवाद तब सुरु भयो जब एक प्रतिपक्ष सांसदले ताकाइचीसँग सोधे– ताइवानको सुरक्षासम्बन्धी परिस्थिति कुन अवस्थामा जापानको अस्तित्वमा खतरा मानिन्छ? त्यसको जवाफमा उनले भनिन्, “यदि युद्धपोत र बल प्रयोग हुने स्थिति आयो भने, त्यो जापानको अस्तित्वलाई खतरा मानिनेछ।”
यो अभिव्यक्ति जापानको २०१५ को सुरक्षा ऐनसँग सम्बन्धित हो, जसअनुसार जापानका सहयोगी मुलुकमाथि सशस्त्र आक्रमण भए र त्यसले जापानको सुरक्षालाई खतरा पुर्यायो भने, जापानको आत्मरक्षा सेना सक्रिय हुन सक्छ।चीनको विदेश मन्त्रालयले ताकाइचीको भनाइलाई “गम्भीर र भडकाउपूर्ण” भन्दै कडा विरोध जनाएको छ। त्यसपछि चीनका ओसाका स्थित कन्सुल जनरल सुए जियानले सामाजिक सञ्जाल ‘X’ मा समाचार साझेदारी गर्दै ताकाइचीप्रति संकेत गर्दै लेखे, “आफ्नो टाउको घुसाउने फोहोर टाउको काटिनै पर्छ।” उक्त टिप्पणीलाई धम्कीका रूपमा लिइएको र जापानले त्यसबारे औपचारिक विरोध गरेको छ। चीनले पनि उल्टै जापानसँग विरोध पत्र बुझाएको छ।प्रधानमन्त्री ताकाइचीले भने आफ्नो भनाइ फिर्ता लिन अस्वीकार गर्दै भनिन् कि यो सरकारको दीर्घकालीन नीतिसँग मिल्दोजुल्दो हो। तर उनले आगामी दिनमा संवेदनशील विषयमा सावधानीपूर्वक टिप्पणी गर्ने बताइन्।चीन र जापानबीचको वैमनस्य ऐतिहासिक रूपमा गहिरो छ। उन्नाइसौं शताब्दीका युद्धदेखि दोस्रो विश्वयुद्धमा जापानको चीनमाथिको क्रूर सैन्य अभियानसम्म, दुबै देशबीचको सम्बन्धमा गहिरो अविश्वास रहँदै आएको छ। अब ताकाइचीजस्ता कडा चीन–विरोधी नेताको उदयले सम्बन्ध अझै चिसिने संकेत देखिएको विश्लेषकहरूको भनाइ छ। उनी अमेरिका–मैत्री र जापानको रक्षा खर्च बढाउने पक्षमा रहेकी नेत्री हुन्, जसले बीजिङमा चिन्ता थपेको छ।ताइवानबारे चीन अत्यन्त संवेदनशील रहेको छ।
चीनले ताइवानलाई आफ्नै भूभागको हिस्सा ठान्दै आएको छ र आवश्यक परे बल प्रयोग गरेर पनि एकीकरण गर्ने नीति अपनाएको छ। तर जापान र अमेरिका दुवैले परम्परागत रूपमा “रणनीतिक अस्पष्टता” कायम राख्दै आएका छन्—अर्थात् चीनले आक्रमण गरे के गर्ने भन्ने विषयमा खुला नबोल्ने नीति।ताकाइचीको पछिल्लो अभिव्यक्तिले जापानको यो अस्पष्ट नीति तोडेको ठानिएको छ। चीनले यसलाई आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप भन्दै तीव्र आपत्ति जनाएको छ। चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “ताइवान चीनको ताइवान हो। हामी कुनै पनि विदेशी हस्तक्षेप सहन सक्दैनौं।”यस विवादले केवल कूटनीतिक तानातान मात्र होइन, पूर्वी एसियामा सुरक्षा असन्तुलन बढाउने सम्भावना पनि देखिएको छ। विश्लेषकहरूका अनुसार, जापानको यो नयाँ कठोर रक्षात्मक धारणा क्षेत्रीय शक्ति सन्तुलनमा नयाँ अध्याय सुरु गर्न सक्छ।