• Thursday, March 5, 2026

जेनजी सरकारका जेनजी मन्त्री : बब्लु गुप्ता


काठमाडौं, भदौ २३ र २४ को जेनजी आन्दोलनले नेपालको राजनीतिक परिदृश्यमा नयाँ तरंग ल्यायो। भ्रष्टाचारविरुद्धको यो आन्दोलनले सडकदेखि सत्तासम्म परिवर्तनको बिगुल फुक्यो। यसको अग्रपंक्तिमा उभिएका थिए, बब्लु गुप्ता– एक युवा, जसको जोश, सामाजिक भावना र नेतृत्वले आन्दोलनलाई गति दियो। माइतीघर मण्डलादेखि बानेश्वरसम्म भ्रष्टाचारविरोधी नारासहितको मार्चमा उनको उपस्थिति प्रेरणादायी थियो। जापानी एनिमीको खोपडीअंकित तस्वीरसहित गाडीमाथि चढेर नारा लगाइरहेका बब्लुले युवा पुस्ताको आक्रोश र परिवर्तनको चाहनालाई जीवन्त रूपमा प्रस्तुत गरे। प्रहरीको गोली चलिरहँदा पनि बानेश्वर चोकमा अडिग रहँदै उनले घाइतेहरूलाई अस्पताल पुर्‍याउने काममा समेत सहजीकरण गरे।

आज तिनै बब्लु गुप्ता जेनजी आन्दोलनको बलमा बनेको अन्तरिम सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका छन्। जेनजी आन्दोलनले स्थापित गरेको सरकारमा खास जेनजी उमेर समूहका व्यक्तिको अभाव भइरहेको आलोचनालाई उनको नियुक्तिले मत्थर पार्ने अपेक्षा गरिएको छ। बब्लुको यो यात्रा केवल मन्त्रीपदसम्मको होइन, यो त एक सामान्य गाउँले युवकदेखि समाजसेवा हुँदै सत्ताको जिम्मेवारीसम्मको प्रेरणादायी कथा हो।

सिरहाको लहानमा जन्मिएका बब्लु गुप्तालाई उनका व्यवसायी बुबाले राम्रो शिक्षाको खोजीमा करिब दुई दशकअघि काठमाडौं पठाए। लोकन्थलीस्थित सगरमाथा स्कूलमा कक्षा ३ मा भर्ना भएका उनले त्यहीँबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे। काठमाडौं आएपछि उनको जीवनले नयाँ मोड लियो। गाउँबाट आउने युवाहरूको वैदेशिक रोजगारीको प्रलोभनमा ठगिएको पीडा र बिरामीहरूको रगतको अभावजस्ता समस्याले उनलाई छोयो। यही संवेदनशीलताले उनमा सामाजिक भावनाको बीज रोपियो। म्यानपावर कम्पनीहरूसँग निर्धक्क कुरा राख्दै ठगिएकाहरूलाई सहयोग गर्न र गाउँले बिरामीका लागि रगत खोज्न उनले किशोरवयमै सक्रियता देखाए।

बब्लुको जीवनमा परोपकारी कर्मको संस्थागत सुरुवात भने ललितपुरको ग्वार्को नजिकै भएको एक सडक दुर्घटनाले प्रेरित गर्‍यो। करिब नौ वर्षअघि रगताम्ये अवस्थामा छटपटाइरहेका एक घाइतेलाई देखेपछि उनले प्रहरीको प्रतीक्षा गरिरहेका भीडलाई पन्छाउँदै साथीहरूको सहयोगमा घाइतेलाई अस्पताल पुर्‍याए। डाक्टर र परिवारजनको धन्यवाद र घाइतेको फर्किएको जीवनले उनलाई मानवीय सेवाको गहिरो महत्व बोध गरायो। यही घटनाले उनलाई परोपकारी कार्यलाई व्यवस्थित रूपमा अघि बढाउने प्रेरणा दियो।

बब्लुले गाउँबाट काठमाडौं आएका बिरामी र वैदेशिक रोजगारीमा अलपत्र परेकाहरूलाई सहयोग गर्न ‘१०० ग्रुप’ नामक सामाजिक समूह स्थापना गरे। यो समूहले विशेषगरी त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा रगतको अभाव झेलिरहेका बिरामीहरूका लागि महत्वपूर्ण सहयोग पुर्‍यायो। सिरहाको कल्याणपुरमा जिउँदै आगो लगाइएकी कञ्चन मण्डलको उपचारमा समेत यो समूहले छोटो समयमै अस्पतालसम्म ल्याएर उपचारको व्यवस्था गरेको थियो। यद्यपि कञ्चनको निधन भए पनि, यो घटनाले बब्लुको समूहको परिचालन क्षमता र सहयोग जुटाउने दक्षताको परीक्षा लिएको थियो।

कोभिड–१९ महामारीको समयमा बब्लु र उनको ‘१०० ग्रुप’ले काठमाडौंमा मजदूरी गर्ने र भोकै परेका विपन्न वर्गका लागि निःशुल्क खाना अभियान चलाए। शंखमूलको चार आना खाली जग्गाबाट सुरु भएको यो अभियान रत्नपार्कको खुलामञ्चसम्म पुग्यो, जहाँ हजारौंलाई खाना खुवाइयो। तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसँगको विवादका बाबजुद समूहले १५०० भन्दा बढीलाई खाना खुवाएर मानवीयताको उदाहरण प्रस्तुत गर्‍यो। साथै, बानेश्वरको रत्नराज्य स्कूलमा चिकित्सकसहितको आइसोलेसन सेन्टर निर्माण, अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर हस्तान्तरणजस्ता कार्यले कोभिड व्यवस्थापनमा उल्लेखनीय योगदान पुर्‍यायो!बब्लुले विपन्न वर्गलाई सहयोग गर्न ‘कपडा बैंक’ र ‘किताब बैंक’ को अवधारणा ल्याए। विदेशमा पुरानो सामान राख्ने कन्टेनरबाट प्रेरित कपडा बैंक अनामनगरबाट सुरु भई जावलाखेल, कलंकी हुँदै रुपन्देहीको सैनामैनासम्म विस्तार भयो। ज्याला मजदूरी गर्नेहरूले सहजै कपडा लैजान सक्थे। यस्तै, किताब बैंकले नयाँ किताब किन्न नसक्ने विद्यार्थीलाई पुराना किताब उपलब्ध गरायो। यद्यपि, संरचनाको अभावले किताब बैंकले निरन्तरता पाउन सकेन। यी अभियानबाहेक, उनले लकडाउनमा हिटी संरक्षण, भक्तपुरमा फल्चा मर्मत र पोखरी सरसफाइमा समेत योगदान दिए।हाल बब्लुको समूह ‘प्रोजेक्ट शिक्षा’ मार्फत ११० जना विपन्न विद्यार्थीलाई काठमाडौंमा खान, बस्न र पढ्नको सुविधा प्रदान गरिरहेको छ। गुह्येश्वरीमा सहयोगी दाताहरूको सहयोगमा बनेको भवनमा यी विद्यार्थीहरूले अध्ययनको अवसर पाएका छन्। बब्लु आफैं जीविकोपार्जनका लागि होस्टल र चियापसल चलाइरहेका छन्।समाजसेवाको सीमितता र देशव्यापी परिवर्तनको आवश्यकताले बब्लुलाई राजनीतिमा डोर्‍यायो। १८ वर्षको उमेरदेखि सेवा र न्यायका लागि खट्दै आएका उनले २०७७ असोज २ मा कुलमान घिसिङको पुनर्नियुक्तिको माग राख्दै भएको प्रदर्शनमा पक्राउ परे। प्रहरी नियन्त्रणमा गम्भीर घाइते हुनेगरी कुटिएका उनको त्यो घटनाले थप चर्चा पायो। जेनजी आन्दोलनमा पनि उनको सक्रियता उत्तिकै थियो। भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्धको माग राख्दै उनले स्वदेशमै युवाहरूका लागि अवसर सिर्जना गर्ने सपना बोकेका छन्।अब युवा तथा खेलकुद मन्त्रीको रूपमा बब्लु गुप्तासँग सीमित समय भए पनि ठूलो अवसर छ। युवा पलायन रोक्ने, स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने र खेलकुद क्षेत्रमा सुधारका लागि उनले नयाँ सुरुवात गर्ने अपेक्षा गरिएको छ। उनको विगतको सामाजिक कार्य र आन्दोलनकारी जोशले यो विश्वास जगाएको छ कि उनी जेनजी पुस्ताको आशालाई साकार पार्न सक्नेछन्।

बब्लु गुप्ता केवल मन्त्री मात्र होइनन्, उनी एक यस्ता युवा हुन्, जसले गाउँको माटोदेखि सत्ताको शिखरसम्मको यात्रामा मानवीयता, जोश र परिवर्तनको सपना बोकेका छन्। जेनजी सरकारका यी जेनजी मन्त्रीले आफ्नो कार्यकालमा कस्तो छाप छोड्नेछन्, त्यो समयले बताउने छ। तर, उनको विगत र वर्तमानले एउटा कुरा स्पष्ट पार्छ– बब्लु गुप्ता परिवर्तनको पर्याय बनेका छन्।

Please Login to comment in the post!

you may also like