• Tuesday, March 3, 2026

मेक्सिकोमा शक्तिशाली लागूऔषध तस्करको मृत्यु भएपछि व्यापक हिंसा, हजारौँ सैनिक परिचालन



मेक्सिकोमा कुख्यात लागूऔषध तस्कर एल मेन्चोको गिरफ्तारीपछि मृत्यु भएपछि देशभरि हिंसात्मक घटनाहरू भड्किएका छन्। त्यसपछि सरकारले सुरक्षा कडा पार्दै हजारौँ सैनिक परिचालन गरेको जनाएको छ।रक्षा सचिव रिकार्डो ट्रेविल्लाका अनुसार सोमबार मात्र पश्चिमी मेक्सिकोमा थप २,५०० सैनिक पठाइएको छ। आइतबारदेखि हालसम्म करिब ९,५०० सुरक्षाकर्मी परिचालन गरिएको सरकारको भनाइ छ।

एल मेन्चो जालिस्को न्यु जेनेरेसन कार्टेल– सीजेएनजी का नेता थिए, जुन मेक्सिकोको सबैभन्दा डर लाग्दा आपराधिक संगठनमध्ये एक मानिन्छ। उनलाई जालिस्को राज्यमा विशेष सैन्य कारबाहीमार्फत पक्राउ गरिएको थियो। पक्राउ गर्ने क्रममा भएको भिडन्तमा उनी गम्भीर घाइते भएका थिए र टापाल्पा सहरबाट राजधानीतर्फ लैजाँदै गर्दा उनको मृत्यु भएको जनाइएको छ।यस कारबाहीमा उनका कम्तीमा ६ जना अंगरक्षक मारिएका थिए भने ३ जना सैनिक घाइते भएका थिए। हिंसा सुरु भएयता जालिस्को राज्यमा मात्रै २५ जना नेशनल गार्डका सदस्यको मृत्यु भएको सुरक्षा अधिकारीहरूले बताएका छन्।

सुरक्षा सचिव ओमार गार्सिया हारफुच का अनुसार एल मेन्चोको मृत्यु पछिको अशान्तिमा एक जेल सुरक्षाकर्मी, राज्य अभियोजन कार्यालयका एक सदस्य तथा उनका आपराधिक समूहका करिब ३० जना सदस्य मारिएका छन्।राष्ट्रपति क्लाउडिया शेनबाउम  ले सेनाको कारबाहीको प्रशंसा गर्दै देशमा शान्ति र सुरक्षालाई प्राथमिकता दिइने बताएकी छन्। उनले देशभर अवस्था नियन्त्रणमा रहेको दाबी गरेकी छन्।एल मेन्चोको मृत्युको खबर फैलिएपछि सीजेएनजीका सदस्यहरूले विभिन्न सहर र नगरहरूमा सडक अवरुद्ध गर्नुका साथै सवारीसाधनमा आगजनी गरेका थिए। जालिस्को राज्यको पर्यटकीय सहर पुएर्तो भालार्टा मा बसहरूमा आगजनी गरिएको दृश्य सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। राजधानी ग्वादालाहारानजिकै सान इसिद्रो क्षेत्रमा पनि नेशनल गार्ड र कार्टेल सदस्यबीच झडप भएको भिडियो सार्वजनिक भएको छ।

अमेरिकी विदेश मन्त्रालयले एल मेन्चोको पक्राउका लागि १५ मिलियन डलर इनाम घोषणा गरेको थियो। मेक्सिकन रक्षा मन्त्रालयले कारबाहीमा अमेरिकी पक्षबाट “पूरक सूचना” प्राप्त भएको स्वीकार गरे पनि उनको मृत्युमा अमेरिकी सेना प्रत्यक्ष संलग्न नभएको स्पष्ट पारेको छ।सरकारले सोमबार बिहानसम्म अधिकांश सडक अवरोध हटाइसकेको जनाएको छ, तर विभिन्न स्थानमा बैंक तथा स्थानीय व्यवसायमा क्षति पुगेको छ। अधिकारीहरूले अवस्थालाई पूर्ण रूपमा नियन्त्रणमा लिन थप सुरक्षाकर्मी परिचालन गरिएको बताएका छन्।

Please Login to comment in the post!

you may also like