लन्डनस्थित अनुसन्धान समूह सूचना सहनशीलता केन्द्र (सीआईआर) का तथ्यांकअनुसार रुसले पछिल्लो समयमा युक्रेनका साना विद्युत् उपकेन्द्रहरूमा हवाई आक्रमण बढाएको छ। ड्रोन उत्पादन क्षमता तीव्र रूपमा बढेपछि रुसले गत जाडोयाममा युक्रेनको विद्युत् सञ्जाललाई पहिलेभन्दा धेरै अवरुद्ध गर्न सफल भएको देखिएको छ।रायटर्ससँग विशेष रूपमा साझा गरिएको उक्त तथ्यांकले रुसी सेनाले स्वदेशमै ड्रोन उत्पादन विस्तार गर्दै लक्ष्यको विविधता बढाएको र आक्रमणको दर तीव्र बनाएको देखाउँछ।सयौं ड्रोन र दर्जनौं मिसाइल प्रयोग गरी गरिने लगातारका आक्रमणहरूले युक्रेनको ऊर्जा क्षेत्रमा गम्भीर असर पारेका छन्। यसले सर्वसाधारण, व्यवसाय र सैन्य क्षेत्रमा विद्युत् तथा ताप आपूर्तिमा अवरोध सिर्जना गरेको छ।रुसको रक्षा मन्त्रालयले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेको छ। रुसले नागरिकलाई लक्षित गरेर आक्रमण नगरेको दाबी गर्दै ऊर्जा पूर्वाधारमाथिको हमला युक्रेनको सैन्य क्षमता कमजोर बनाउन गरिएको बताएको छ। तर कीभले यस्ता आक्रमणलाई युद्ध अपराध भनेको छ।सीआईआरका अनुसन्धानकर्ता जोशुआ स्क्रिभेनका अनुसार, “२०२५ भन्दा अघि रुसले पर्याप्त ड्रोन संकलन गरेर मात्रै युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई दबाबमा पार्न सक्थ्यो। तर अहिले दैनिक सयभन्दा बढी ड्रोन प्रहार गर्न सक्ने अवस्थामा पुगेपछि उसले लक्ष्य छनोटमा धेरै स्वतन्त्रता पाएको छ।”युक्रेनका अधिकारीहरूका अनुसार रुसले साना उपकेन्द्रहरूमा आक्रमण गर्न मुख्यतः सस्ता ड्रोन प्रयोग गरिरहेको छ, महँगा मिसाइल होइन। युक्रेनले सीमित हवाई प्रतिरक्षा प्रणालीलाई मुख्य विद्युत् केन्द्रहरू जोगाउन प्रयोग गर्नुपरेकाले साना संरचनाहरू सुरक्षित गर्न कठिन भइरहेको छ।कीभस्थित ऊर्जा अनुसन्धान केन्द्र का निर्देशक ओलेक्सान्दर खारचेन्कोका अनुसार युक्रेनमा करिब ११५ देखि १२० वटा उच्च-भोल्टेज उपकेन्द्र भए पनि ३,००० भन्दा बढी साना ट्रान्सफर्मरहरू रहेका छन्।
विश्व बैंकका अनुसार रुसको बमबारीका कारण युक्रेनको ऊर्जा क्षेत्रमा करिब २५ अर्ब डलर बराबरको क्षति पुगेको छ। ऊर्जा क्षेत्र पुनर्निर्माण र पुनःस्थापनाको कुल लागत ९० अर्ब डलरभन्दा बढी हुने अनुमान गरिएको छ।गत केही महिनामा रुसले पूर्ण युद्धकालकै सबैभन्दा ठूलो शीतकालीन आक्रमण अभियान सञ्चालन गरेको थियो। यसका कारण युक्रेनका प्रमुख शहरहरूमा अत्यधिक चिसो मौसमबीच नागरिकहरूले दिनमा १८ घण्टासम्म विद्युत् कटौती भोग्नुपरेको थियो।युक्रेनको रक्षा मन्त्रालयका अनुसार नोभेम्बर २०२५ देखि मार्च २०२६ सम्म रुसले १,००० भन्दा बढी मिसाइल र २७,००० भन्दा बढी शाहेद प्रकारका ड्रोन प्रहार गरेको थियो।सीआईआरले प्रमाणित भिडियो र भौगोलिक विश्लेषणका आधारमा २७० वटा आक्रमणको नक्साङ्कन गरेको छ।तथ्यांकले देखाएअनुसार गत जाडोयाममा युक्रेनको ऊर्जा प्रणालीमाथि भएका आक्रमणहरू अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा बढेका थिए। अक्टोबर २०२५ देखि अप्रिल २०२६ सम्म सीआईआरले पुष्टि गरेका आक्रमणमध्ये ५८ प्रतिशत साना उपकेन्द्रहरूमा केन्द्रित थिए, जुन अघिल्लो वर्षको सोही अवधिमा ३१ प्रतिशत मात्र थियो।युक्रेनको रक्षा गुप्तचर एजेन्सीका अनुसार रुसले सयौं ड्रोन र दर्जनौं मिसाइल मिसाएर विद्युत् उत्पादन केन्द्र तथा प्रसारण सञ्जाल दुवैमाथि आक्रमण गरिरहेको छ।सीआईआरको विश्लेषणअनुसार ठूला ऊर्जा केन्द्रहरूमा प्रमुख आक्रमण जारी रहे पनि बीच-बीचमा पठाइने साना ड्रोन समूहहरूले मुख्यतः उपभोक्तालाई विद्युत् वितरण गर्ने साना उपकेन्द्रहरूलाई निशाना बनाइरहेका छन्।स्क्रिभेनले भने, “वितरण उपकेन्द्रमा आक्रमण गर्दा सम्पूर्ण राष्ट्रिय ग्रिडमा ठूलो असर नपर्न सक्छ, तर स्थानीय स्तरमा यसले गम्भीर समस्या सिर्जना गर्न सक्छ।” उनका अनुसार यस्ता आक्रमणबाट हजारौं मानिस प्रभावित हुन सक्छन्।