• Tuesday, March 3, 2026

युरोप–अमेरिका विभाजन गहिरिँदै जाँदा रुसले फाइदा उठाउने संकेत



वासिङ्टन/मस्को—युक्रेन युद्ध अन्त्यका लागि सम्भावित शान्ति सम्झौताबारे वार्ता गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दूतहरू गत साता मस्को पुगे पनि खास प्रगति नभएको देखिएको छ। तर यसबीच अमेरिका र युरोपबीच बढ्दै गएको मतभेदलाई रुसले नयाँ कूटनीतिक फाइदाका रूपमा प्रयोग गर्न थालेको छ।मंगलबार प्रकाशित पोलिटिकोलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले युरोपेली राष्ट्रहरूलाई आप्रवासन नीतिका कारण “कमजोर” र “क्षय हुँदै गएको” टिप्पणी गर्दै आलोचना दोहोर्याए। उनले युक्रेन युद्धमा रुस “माथिल्लो स्थितिमा” रहेको दाबी गर्दै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यथार्थ स्वीकार गर्नुपर्ने बताएका छन्। “हारिरहँदा अब स्वीकार गर्न थाल्नुपर्छ,” ट्रम्पको भनाइ थियो।

ट्रम्पका यी अभिव्यक्तिपछि गत साता सार्वजनिक गरिएको अमेरिकी नयाँ राष्ट्रिय सुरक्षा रणनीतिले पनि युरोपेली सरकारहरूलाई निशाना बनाएको छ। उक्त दस्तावेजमा युक्रेनप्रतिको युरोपेली समर्थनलाई शान्ति सम्झौतामा बाधक ठहर गर्दै “युद्धप्रति अव्यावहारिक अपेक्षा राख्ने युरोपेली अधिकारीहरू” ले समस्या सिर्जना गरेको दाबी गरिएको छ। साथै, युरोपमा लोकतान्त्रिक प्रक्रियालाई कमजोर पारिएको आरोपसमेत गरिएको छ।जर्मन चान्सलर फ्रेडरिख मर्जले भने उक्त रणनीतिप्रति असन्तुष्टि जनाउँदै केही अंश बुझ्न सकिने भए पनि केही कुरा युरोपेली दृष्टिकोणबाट “अस्वीकार्य” भएको बताए। उनले युरोपमा लोकतन्त्र जोगाउन अमेरिकाको सहयोग आवश्यक नभएको टिप्पणी गरे।अमेरिकाको यस धारणा भने रुसका लागि उपयोगी बनेको देखिन्छ। क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले नयाँ अमेरिकी रणनीति “हाम्रो दृष्टिकोणसँग मेल खाने” बताएका छन्। उनले यसले संवाद र रचनात्मक सम्बन्ध निर्माणको कुरा गरेको भन्दै स्वागत गरे।

रुसी डायरेक्ट इन्भेस्टमेन्ट फन्डका प्रमुख किरील दिमित्रिएभले पनि ट्रम्पको युरोपमाथिको आलोचनालाई सामाजिक सञ्जाल एक्स (X) मार्फत प्रशंसा गरेका छन्। यद्यपि, रुसमै राजनीतिक प्रतिस्पर्धा र सञ्चार स्वतन्त्रता कमजोर बनाइएको पृष्ठभूमिमा युरोपमाथि लोकतान्त्रिक पतनको आरोप लगाइनु विरोधाभासपूर्ण मानिएको छ।विश्लेषकहरूका अनुसार रुसको रणनीति युरोपेली जनमतलाई कमजोर पार्दै युक्रेनप्रतिको समर्थन घटाउने र नेटो गठबन्धनको विश्वसनीयतामा शंका उब्जाउनेतर्फ केन्द्रित छ। अमेरिकी राष्ट्रिय सुरक्षा रणनीतिले मस्कोलाई सूचनात्मक युद्धमा थप हतियार दिएको उनीहरूको ठम्याइ छ।यता राष्ट्रपति जेलेन्स्की युरोपका विभिन्न राजधानीमा कूटनीतिक भेटघाट गर्दै युक्रेनप्रतिको समर्थन मजबुत पार्ने प्रयासमा छन्। तर समानान्तर रूपमा, मस्कोबाट युरोपविरुद्धको कडा बयानबाजी पनि तीव्र बन्दै गएको छ।रुसी राजनीतिक विश्लेषक सर्गेई करागानोभले एक टेलिभिजन अन्तर्वार्तामा रुस “युरोपसँग युद्धको अवस्थामा” रहेको अभिव्यक्ति दिए। उनले “नैतिक र राजनीतिक रूपमा युरोपलाई पराजित नगरेसम्म युद्ध समाप्त नहुने” जस्ता कठोर टिप्पणी गरेका छन्।यसअघि राष्ट्रपति भ्लादिमिर पुटिनले पनि रुस युरोपसँग युद्ध चाहँदैन तर युद्ध थालिए “तयार” रहेको चेतावनी दिएका थिए। विश्लेषकहरूका अनुसार यस्ता अभिव्यक्तिको मुख्य लक्ष्य युरोपेली जनतालाई त्रसित बनाउँदै ट्रान्स–एटलान्टिक सम्बन्धमा दरार गहिर्याउनु हो।

Please Login to comment in the post!

you may also like