• Tuesday, March 3, 2026

काठमाडौंस्थित संयुक्त अरब इमिरेट्स (युएई) दूतावास र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को संयुक्त आयोजनामा पानी संरक्षण र नवप्रवर्तनबारे रणनीतिक संवाद



काठमाडौं—विश्वव्यापी जलवायु संकटका बीच पानी संरक्षण र नवप्रवर्तनमा केन्द्रित रणनीतिक संवाद मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। काठमाडौंस्थित संयुक्त अरब इमिरेट्स (युएई) दूतावास र राष्ट्रिय प्रकृति संरक्षण कोष (एनटीएनसी) को सहकार्यमा आयोजित कार्यक्रममा मोहम्मद बिन जायेद वाटर इनिसिएटिभबाट प्राप्त अनुभव र दृष्टिकोणबारे छलफल गरिएको थियो।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री मदनप्रसाद परियारले विश्व अभूतपूर्व जलसंकटको सामना गरिरहेको उल्लेख गर्दै हरेक वर्ष करिब चार अर्ब मानिस पानी अभावबाट प्रभावित हुने बताए।मन्त्री परियारले पानी सुरक्षा सुनिश्चित गर्न, खाद्य स्थिरता कायम राख्न, मानवीय कल्याण प्रवर्द्धन गर्न तथा जलवायु अनुकूलन क्षमता सुदृढ गर्न समयमै पहल, क्षेत्रीय सहकार्य, वैज्ञानिक योजना र प्रविधिगत नवप्रवर्तन अत्यावश्यक रहेको बताए।कार्यक्रममा युएईका राजदूत अब्दुल्लाह जर्वान अल शम्सीले दिगो पानी व्यवस्थापनको आवश्यकता औँल्याउँदै वर्षा पानी संकलनको विस्तार, प्रभावकारी सिँचाइ प्रणाली र नदी तथा भू–गर्भीय जलस्रोतको संरक्षणलाई जोड दिए।

राजदूत अल शम्सीले सन् २०२४ मा सुरु गरिएको मोहम्मद बिन जायेद वाटर इनिसिएटिभको चर्चा गर्दै यस पहलले समुद्री पानी प्रशोधन (डिसालिनेसन), अन्तर्राष्ट्रिय सहकार्य र जोखिममा रहेका समुदायलाई सहयोगजस्ता उन्नत समाधान प्रवर्द्धन गर्ने बताए।कार्यक्रममा युएई र नेपालबीच साझा विकास लक्ष्यमा आधारित सहकार्य क्रमशः सुदृढ हुँदै गएको पनि उल्लेख गरिएको थियो।

Please Login to comment in the post!

you may also like