• Thursday, March 5, 2026

मेधाश्री विद्यालयको नाटक ‘यशस्वी भव:’ को मञ्चन आजबाट सुरु


काठमाडौँ । काठमाडौँको थापागाउँस्थित कुञ्ज नाटकघर, शिल्पशाला—थापागाउँ नयाँ बानेश्वरमा मेधाश्री विद्यालयले प्रस्तुत गरेको नाटक ‘यशस्वी भव:’ आज (मंसिर २३ गते) बाट औपचारिक रूपमा मञ्चन सुरु भएको छ। नाटक मंसिर २८ गतेसम्म एक सातासम्म निरन्तर प्रदर्शन हुनेछ।

समाजमा नैतिक शिक्षा, सामाजिक दायित्व र जिम्मेवारीप्रतिको चेतना क्रमशः क्षीण बन्दै गइरहेको यथार्थलाई मुख्य विषयवस्तु बनाइएको यस नाटकमा तीन पुस्ताबीचको पुस्तान्तरण, जीवनशैली र भावनात्मक अन्तरसम्बन्धलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। नाटकले प्रतीकात्मक शैलीमार्फत दर्शक सामु महत्वपूर्ण प्रश्न उब्जाउँछ—“२१औँ शताब्दीका मानिसहरू शिक्षित भएर भावशून्य बनेका हुन्, वा भावनाशून्य भएर मात्र शिक्षित जस्ता देखिन्छन् ?”

रङ्गकर्मी तथा नाटककार राम के.ए.सी.को लेखन तथा निर्देशनमा तयार भएको ‘यशस्वी भव:’ को सहनिर्देशन किरण चापागाईंले गरेका छन्। सद्भाव थिएटर नेपालको "शिक्षाका लागि रङ्गमञ्च" अभियान अन्तर्गत मेधाश्री विद्यालयसँगको सहकार्यमा यो नाटक निर्माण गरिएको हो।

नाटकमा कृषा बागदाश, शोभी तामाङ, प्रकृत खड्का, रियाज पराजुली, स्मारिका विश्वकर्मा, अव्यक्त राजवाहक, सदिक्षा तामाङ, कृतिका चौधरी, रियान बस्नेत, जयश्री खड्गी, अनुष्का निरौला, दिव्यांशा ताम्राकार र बिप्रीना शाहीले जीवन्त अभिनय प्रस्तुत गरेका छन्।

नाटक हरेक दिन दुई शो—बिहान ११:०० बजे र दिउँसो २:०० बजे—मञ्चन हुनेछ। अभिभावकले आफ्ना बालबालिकासँगै बसेर हेर्नुपर्ने सन्देश बोकेको यस नाटकका लागि विद्यालय, कलेज तथा अन्य दर्शकका लागि टिकट दर रु ३०० तथा रु ५०० तोकिएको छ।

Please Login to comment in the post!

you may also like