अस्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा लगाइएको नयाँ प्रतिबन्धले अभिभावक, किशोर–किशोरी र अभियानकर्ताबीच व्यापक बहस उत्पन्न भएको छ। टास्मानियाकी दुई सन्तानकी आमा केली ह्यालिडोन (४१) ले गर्मी बिदा र क्रिसमसजस्तो समयमै प्रतिबन्ध सुरु हुनु “उपयुक्त नभएको” टिप्पणी गरेकी छन्।उनका अनुसार वर्षौंदेखि जिम्मेवारीका साथ सामाजिक सञ्जाल प्रयोग गरेका बालबालिका अचानक काटिनु “क्रूर” हो। ९ र १६ वर्षका सन्तानकी आमा ह्यालिडोन भन्छिन्—यो प्रतिबन्धले हजारौं नाबालकको “एजेन्सी र आवाज खोस्छ”, जसले उनीहरूको आधुनिक सामाजिक जीवनमा सहभागिता, अभिव्यक्ति, सिकाइ र विकासलाई कमजोर बनाउँछ। सबै बालबालिका एउटै हुँदैनन्; कतिपयले सामाजिक सञ्जालमार्फत सिक्ने, सिर्जना गर्ने, जोडिन र एक्लोपन घटाउने मौका पाउँछन्, उनको तर्क छ। “यहीँ यो पुस्ता बोल्छ, परिवर्तन गर्छ र समुदाय बनाउँछ—यसलाई चुप लगाउँदा सुरक्षित हुँदैन, झन् अदृश्य बनाइन्छ,” उनले भनिन्।
यता १५ वर्षका टाइसनले प्रतिबन्ध प्रभावकारी नहुने दाबी गर्दै साथीहरूले “कुनै न कुनै बाटो फेला पार्ने” बताएका छन्। उनका अनुसार लक्षित समूह नै पहिला घुमाउरो उपाय खोज्नेछन्।तर प्रतिबन्धको समर्थन गर्ने अभियानकर्ताहरूले कडा चेतावनी दिएका छन्। उमेर–सीमा अभियानकी मिया ब्यानिस्टरले “बालबालिका सामाजिक सञ्जालका लागि अझै तयार छैनन्” भन्दै अभिभावकलाई नियम छल्न सहयोग नगर्न आग्रह गरेकी छन्। उनका छोरा ओल्ली ह्युग्स १४ वर्षमा बितेका थिए। ब्यानिस्टरले अरबौं डलरका “लत लाग्ने” एल्गोरिदमले बालबालिकालाई गम्भीर हानि पुर्याउने बताउँदै अनलाइन हानिका कारण ज्यान गुमाएका थुप्रै बालबालिकाको नाम स्मरण गराइन्।
सञ्चार मन्त्री अनिका वेल्सले VPN प्रयोग गरी नियम छल्ने प्रयास अस्थायी मात्र हुने चेतावनी दिएकी छन्। सामाजिक सञ्जाल कम्पनीहरूले नियमित रूपमा १६ वर्षमुनिका खाताको जाँच गर्ने र विद्यालय जीवनसम्बन्धी कुराकानी वा अष्ट्रेलियामा खिचिएका फोटो जस्ता डाटाबाट उमेर उल्लङ्घन पहिचान गर्न सक्ने उनले बताइन्। “दायित्व प्लेटफर्मको हो, अभिभावकको होइन,” उनको भनाइ छ।यता प्रतिबन्धपछि वैकल्पिक सामाजिक सञ्जाल एपको डाउनलोडमा वृद्धि देखिएको छ। एप्पलको एप स्टोरमा लेमन८, योप र कभरस्टार शीर्ष डाउनलोडमा परेका छन्। नियामकले भने कानुन सबै सामाजिक सञ्जाल एपमा लागू हुने र नियम कडाइका साथ कार्यान्वयन गरिने स्पष्ट पारेका छन्।