२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा स्याङ्जा–२ निर्वाचन क्षेत्रमा गम्भीर किसिमको फर्जी मतदान भएको तथ्य सार्वजनिक भएको छ । मृतक २७ जनाको नामबाट तथा वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका करिब १ हजार १०० मतदाताको नाममा समेत मतदान भएको पाइएको हो । मृतकमध्ये पोखरा–जोमसोम उडानका क्रममा २०७९ जेठ १६ गते भएको तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकी चालक दलकी सदस्य किस्मी थापा मगरको नाममा समेत मतदान भएको पुष्टि भएको थियो ।निर्वाचन आयोगले मृतक मतदाताको लगत कट्टा नगर्नुका साथै विदेश गएका तथा फर्किएका मतदाताको विवरण अद्यावधिक नगरी अन्तिम मतदाता नामावली सार्वजनिक गरेकै कारण यस्तो अवस्था सिर्जना भएको जाँचबुझ आयोगको निष्कर्ष छ । २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनपछि विभिन्न मतदान केन्द्रमा मृतक, विदेशमा रहेका तथा अनुपस्थित व्यक्तिको नाममा मतदान भएको भन्दै आयोगमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा गठित उच्चस्तरीय जाँचबुझ आयोगको साढे चार सय पृष्ठको प्रतिवेदनले पनि मृतक तथा विदेशमा रहेका व्यक्तिको नाममा मतदान भएको पुष्टि गरेको छ ।चापाकोट नगरपालिकाका विभिन्न मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मतदान भएको दाबी उजुरीमा गरिएको थियो । बुथ कब्जा र अनधिकृत मतदान भएको आरोपसहित प्रतिनिधिसभा सदस्य धनराज गुरुङ, प्रदेशसभा सदस्य भोजराज अर्याल र महेश भट्टराईलाई निर्वाचित गरेको आयोगको निर्णय बदर गरी पुनः मतदान गराउन माग गरिएको थियो । मृतकको नाममा मतदान भएको प्रमाणका रूपमा मृत्युदर्ताका प्रमाणपत्रसमेत पेश गरिएको थियो, जसका कारण १० दिनसम्म मतगणना रोकिएको थियो ।
जाँचबुझ आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रियल–टाइम इन–एक्जिट डेटा, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको प्रणाली र निर्वाचन आयोगको मतदाता सूची प्रणालीबीच अन्तरआबद्धता आवश्यक रहेको सुझाव दिएको थियो । यद्यपि आयोगले एकीकृत डेटाबेसको अभाव देखाउँदै वास्तविक रूपमा कसले मतदान गर्यो वा गरेन भन्ने यकिन गर्न नसकिएको सर्वोच्च अदालतमा लिखित जवाफ पेश गरेको थियो ।सोही आधारमा २०८१ भदौ ५ गते सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्याप्त ठोस प्रमाणको अभाव देखाउँदै रिट खारेज गरिदिएको थियो । अदालतले निर्वाचन ऐनअनुसारको प्रक्रिया पूरा भएको ठहर गरेको छ ।यस घटनाले स्याङ्जा–२ मा मात्र नभई अन्य जिल्लामा पनि फर्जी मतदान हुन सक्ने जोखिम रहेको संकेत गरेको छ । निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्तले मृतक, बसाइँसराइ गरेका, विवाहपछि अन्यत्र गएका महिला तथा विदेशमा बसेर गैरआवासीय नागरिकता लिएका मतदाताको नामावली समयमै अद्यावधिक नगर्दा समस्या दोहोरिइरहेको बताएका छन् । उनका अनुसार स्थानीय तह र सम्बन्धित निकायबीच समन्वय र इच्छाशक्ति अभावकै कारण मतदाता सूचीमा त्रुटि कायम रहँदै आएको छ ।