नेपालमा पहिलो पटक कालिकण्ठ सारस / ग्रुस निग्रिकोलिस को सफल प्रजनन पुष्टि भएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ को झन्डै लोपको सूचीमा रहेको यो दुर्लभ चरा हुम्ला जिल्लाको उच्च हिमाली लिमि उपत्यकामा बच्चासहित देखिएको हो। यस घटनाले नेपालमा कालिकण्ठ सारसको पहिलो आधिकारिक प्रजनन अभिलेख स्थापना गरेको छ।
नम्खा गाउँपालिका अन्तर्गत पर्ने साक्या खोलाको समथर क्षेत्रमा एक जोडी कालिकण्ठ सारस आफ्नो चल्लाको हेरचाह गरिरहेको अवस्थामा देखिएको हो। वरिष्ठ पक्षीविद् हेमसागर बराल ले आमाबुवासँगै चल्ला देखिनु नै प्रजननको ठोस प्रमाण भएको उल्लेख गर्दै यसलाई नेपालका लागि ऐतिहासिक उपलब्धि बताएका छन्।यो महत्वपूर्ण खोज बर्ड कन्जरभेसन नेपाल को अनुसन्धान टोलीले गरेको हो। टोलीको नेतृत्व गिद्ध संरक्षण अधिकृत अंकित बिलास जोशी र वरिष्ठ अनुसन्धान अधिकृत किरण गोसाई ले गरेका थिए। टोलीले करिब तीन हप्ता अत्यन्तै दुर्गम क्षेत्रमा, करिब ४,५०० मिटर उचाइमा, पाल टाँगेर बसेर निङ, ध्याउ र साक्या खोलाका आसपास क्षेत्रमा सर्वेक्षण गरेको थियो।
जोशीका अनुसार, “हुम्लामा विगत करिब १२ वर्षदेखि कालिकण्ठ सारसका वयस्क मात्र देखिँदै आएका थिए। पहिलो पटक चल्ला देख्नु अविस्मरणीय अनुभव हो। अब यो चरा नेपालमा केवल मौसमी पाहुना नभई केही क्षेत्रमा प्रजनन गर्ने प्रजाति भएको पुष्टि भएको छ।”अनुसन्धानकर्ताहरूका अनुसार, सारसले खोलानजिकको समथर र खुला सिमसार क्षेत्रलाई प्रजनन स्थलका रूपमा रोजेका थिए। सामान्यतया कालिकण्ठ सारसले १ देखि २ वटा अण्डा पार्छ र भाले–पोथी दुवैले करिब ३० देखि ३२ दिनसम्म अण्डा सेच्ने काम गर्छन्। चल्ला करिब १०० दिनपछि उड्न सक्षम हुन्छ।
टोलीले दुई दिनसम्म चल्लाको व्यवहार र वातावरणलाई कुनै असर पर्ने नगरी अध्ययन गरेको थियो। थप अध्ययनका लागि सन् २०२६ को अप्रिलमा पुनः अनुसन्धान अभियान सञ्चालन गर्ने योजना रहेको छ।कालिकण्ठ सारस कालो टाउको र घाँटी, फुस्रो खरानी शरीर र आकर्षक पखेटाका कारण चिनिने चरा हो। यसले उच्च हिमाली सिमसार, दलदल र खोलाको आसपास बास गर्छ। नेपालमा यसलाई परम्परागत रूपमा गर्मी याममा आउने प्रवासी चरा मानिँदै आएको थियो। जाडो याममा यो भूटानको बुमथाङ उपत्यकालगायत हिमाली क्षेत्रमा सर्ने गर्छ।पक्षीविद् कृष्णप्रसाद भुषाल का अनुसार नेपालमा चार प्रजातिका सारस पाइन्छ। सारस, कालिकण्ठ सारस, डेमोइसेल सारस (कार्याङकुरुङ) र सामान्य सारस (लक्ष्मण सारस)। यसअघि नेपालमा केवल सारस प्रजातिको मात्र प्रजनन पुष्टि भएको थियो। कालिकण्ठ सारसको प्रजनन पुष्टि भएसँगै नेपाल दुई प्रजातिका सारसको प्रजनन स्थल भएको देश बनेको छ।
यद्यपि, संरक्षणविद्हरूले कालिकण्ठ सारस विभिन्न खतराको सामना गरिरहेको चेतावनी दिएका छन्। बासस्थान क्षय, विकास निर्माण, अत्यधिक चरन, जलवायु परिवर्तन जस्ता कारणले यसको प्रजनन क्षेत्र सिमित हुँदै गएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ ले यसलाई झन्डै लोपको श्रेणीमा राखेको छ।
नेपालमा हालसम्म ९०२ प्रजातिका चराहरू अभिलेख भइसकेका छन्। चराचुरुङ्गीको विविधताका कारण नेपाल पछिल्ला वर्षहरूमा पक्षी अवलोकन गर्ने विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ। संरक्षणविद्हरूका अनुसार चरासंरक्षणले पर्यटन प्रवर्द्धनमा पनि महत्वपूर्ण योगदान दिन सक्छ।तर, बासस्थान अतिक्रमण, नदीजन्य सामग्रीको अनियन्त्रित उत्खनन, विषादी प्रयोग, चराहण्टा, जलवायु परिवर्तन र स्थानीय तहमा सचेतनाको कमी जस्ता समस्याले पक्षी संरक्षणमा चुनौती थपिरहेको छ।
हुम्लाको लिमि उपत्यकामा रहेको यो उच्च हिमाली प्रजनन क्षेत्रलाई तत्काल संरक्षण गर्नु आवश्यक रहेको विज्ञहरूको जोड छ। कालिकण्ठ सारसको सफल प्रजनन नेपालका लागि गौरवको विषय मात्र होइन, संरक्षणतर्फ ध्यान दिनुपर्ने स्पष्ट सन्देश पनि हो।